टोखा लाइभ ।कात्तिक १८, २०७८ विहिवार
नेपाल संवत वैज्ञानिक बनाउन र दैनिक प्रयोगमा ल्याउन यसको एप तयार भएको छ।अमेरिकी वैज्ञानिक संस्था नासामा कार्यरत प्रमुख प्रविधि अधिकृत शौनक रञ्जितकारले सो एप तयार गरेका हुन्।नेपाल संवत ११४२ को अवसरमा कात्तिक १९ गते एप सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले विहिवार जानकारी दियो।
प्रतिष्ठानले प्रत्येक वर्ष नेपाल संवतका अवसरमा मध्यपुर थिमि शंखधरचोकस्थित साख्वाको शालिकमा माल्यापर्ण गर्दै आएको छ।
सो कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले एप सार्वजनिक गर्ने प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले जानकारी दिए।
नेपाल संवत ठकुरी राजा राघवदेवको शासनकालमा इस्वि संवत ८७१ मा चन्द्रसौर पात्रोको आधारमा स्थापना भएको संवत मानिन्छ।
काठमाडौंका व्यापारी शंखधर साख्वाले देशवासीलाई ऋणमुक्त गराएको दिन नेपालको नाममा यो संवत चलाएको इतिहास छ।
चन्द्रमाको गतिलाई आधार बनाई निर्माण भएको नेपाल संवतमा चन्द्रमाले १२ डिग्री पार गर्न लिने अवधिलाई तिथीको रुपमा लिइन्छ।
चन्द्रमाले शून्य डिग्रीदेखि १२ डिग्री पार गर्न लिने समयलाई एक दिन अर्थात महिनाको पहिलो दिन पारु या प्रतिपदा भनिन्छ।
नेपाल संवतको एप पूर्ण स्वचालित पात्रो भएको र यसले विगत र भविष्यको कुनै पनि वर्षको पात्रो निर्माण गर्न सक्ने विशेषता भएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले बताए।
नेपाल संवतको एपले नेपालमा प्रचलित र विक्रम संवत र अन्तराष्ट्रिय रुपमा प्रचलित इस्वी संवतको तिथिमितिसमेत तुलना गर्न सकिने व्यवस्था छ।
एपले चाडपर्वको सूचीसमेत उपलब्ध गराउँछ। यो एपमा प्रयोगकर्ताले रोजेको भाषा नेपाली, अंग्रेजी र नेपाल भाषामा चलाउन र हेर्न मिल्ने व्यवस्था रहेको मानन्धरले जानकारी दिए।
प्रतिष्ठानले माल्यापर्णमा बुलेटिन प्रकाशनका साथै नेपाल संवतको प्रवर्द्धनमा योगदान दिने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने र सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने प्रतिष्ठानका निवर्तमान अध्यक्ष मानन्धरले बताए।

