कात्तिक ३,२०७८
काठमाडौं । अविरल वर्षाका कारण धान खेतमै डुबेपछि चिन्तित भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन किसान महासंघले आग्रह गरेको छ। अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेपनि सरकार मौन बसेको भन्दै महासंघले किसानलाई राहत उपलब्ध नगराए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले एक विज्ञप्ती जारी गदै भन्नुभएको छ,‘विगत केही दिनयता देशका विभिन्न जिल्लाहरुमा परेको अविरल बर्षा, बाढी र डुवानका कारण ठुलोमात्रामा धनजनको क्षति भएको छ । बाढी, वर्षा र डुवानले किसानको उत्पादन, उत्पादन फार्महरु र हजारौ हेक्टर खेतियोग्य जमीन र वाली नष्ट भएको छ । वर्षा, बाढी र डुवानले सिर्जना गरेको यस विषम परिस्थितिबाट धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ । ’

