• TOKHA LIVE

    • ३ कार्तिक २०७८, बुधबार २०:५१

    पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

    टाेखालाइभ/कात्तिक ३, काठमाडौँ ।

    पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज विशेष समारोहका बीच नगद रु तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गरेको छ ।त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि रु तीन लाख रहेको छ । उक्त पुरस्कार तथा सम्मानपत्र आख्यानकार दाहाललाई प्रतिष्ठानका तर्फबाट पोखरेलले प्रदान गर्नुभएको थियो  ।

    भजन शिरोमणि आचार्यले हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गर्नुभएको उहाँका छोरा तथा गायक सत्यराज आचार्यले बताउनुभयो । गायक आचार्यले सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने बताएको छ ।

    आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षको कथा भएको र आगामी दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा पनि निरन्तर लाग्ने प्रतिबद्धत्ता व्यक्त गर्नुभयो ।

    गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उक्त प्रतिष्ठानमार्फत विसं २०६३ देखि उक्त सम्मान र पुरस्कार प्रदान गर्दै आएको र आगामी वर्षबाट रु तीन लाख राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताउनुभयो ।

    प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गर्नुभयो । आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्यी रहेको समिति गठन गरिएको छ ।

    कार्यक्रममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तयार गरेको महेश पौडेलद्वारा अनुवादित ‘सेलेक्टेड नेपाली स्टोरिज’ नामक पुस्तकको साहित्यकार तथा लेखकद्वय ध्रुवचन्द्र गौतम र खगेन्द्र सङ्ग्रौलाले सार्वजनिक गर्नुभएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै