• TOKHA LIVE

    • १४ आश्विन २०७८, बिहीबार १८:१७

    शालिनदी माधवनारायण मूल मन्दिरको मेयरद्वयबाट सिलान्यास सम्पन्न

    टाेखालाइभ/ असोज १४,२०७८

    लावण्य/साँखु । श्री माधवनारायण स्वस्थाती व्रत तथा शालिनदी सुधार समितिले बनाउन लागेको माधवनारायणको मूल मन्दिरको आज शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले संयुक्त रुपमा सिलान्यास गर्नुभएको छ ।

    मन्दिरको उद्घाटनका अवसरमा मेयर सुवर्ण श्रेष्ठले शालिनदी क्षेत्र शंखरापुरको गौरव भएको बताउँदै प्रत्येक वर्ष कागेश्वरी मनोहरा नगरपालिकाबाट प्राप्त हुने रकम र गोकर्णेश्वर नगरपालिकाबाट प्राप्त हुने रकम यस क्षेत्रमा लगानी गर्दै आईरहेको उहाँको भनाइ थियो । शंखरापुरको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बज्रयोगिनी र शालिनदी क्षेत्रलाई विशेष महत्व दिइएको बताउँदै स्वस्थानी मन्दिर बनिसकेपछि माधवनारायण ओझेलमा परेको हो कि भन्ने धेरैलाई लागेको थियो । सोही कारण समितिले गत वर्षबाट सुरु गरेको माधवनारायणको मूल मन्दिर निर्माण सम्बन्धी योजना यो वर्ष सुरु भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

     

    कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गत वर्ष र यस वर्ष समेत आफ्नो नगरपालिकाले ५०–५० लाख शालिनदी क्षेत्रको लागि विनियोजन गरेको बताउदै आफु यसै क्षेत्रको बासिन्दा भएको र साँखुको शालिनदी तीर्थमा प्रायः आईरहेको हुँदा यस क्षेत्रको बढी माया लाग्ने बताएका थिए ।

    कार्यक्रममा शंखरापुर नगरपालिकाका उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन एलपी श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रमको सभापतित्व गर्दै श्री माधवनारायण स्वस्थाती व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले गत वर्ष कोरोना महामारीका बीच व्रत पूजा सञ्चालन गर्दा समेत भक्तजनले दिने दान दक्षिणमा कमी नआएको हुँदा यस वर्ष भक्तजनहरुले दिने दानबाटै श्री माधवनारायणको मूल मन्दिर बनाउन सकिने विचार व्यक्त गर्दै दान दातव्यको लागि सम्पूर्ण भक्तजनहरु, नगरपालिका र विभिन्न संघसंस्थाहरुलाई आग्रह समेत गर्नुभयो।

    माधवनारायण मूल मन्दिरको लागि ३ करोड ५० लाखको लागत लाग्ने पूर्व अनुमान गरिएको छ । यस मन्दिरको सम्पूर्ण डिजाईन र प्राविधिक काम साँखु सुन्टोल निवासी आर्टिटेक्ट ई. अनिल श्रेष्ठले गर्नुभएको थियो ।

    फाेटाे : सौजन्य लावण्य सन्देश

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै