टाेखालाइभ / जेठ ८ काठमाडौं :
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । हिजो शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर दुई चरणमा मध्यावधि निर्वाचन गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालययले दिएको छ।
शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी थिइन् ।उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।
निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपालपक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। त्यस्तै ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका थिए।
राष्ट्रपति भण्डारीले प्रम एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवादुबैको दाबी नपुग्ने भए पछी खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
प्रतिनिधि सभाबाट प्रधानमन्त्री चयन हुने यो अन्तिम विकल्पबाट पनि प्रधानमन्त्री नियुक्त हुन नसक्ने ठहर गरेपछि ओली मन्त्रिपरिषद्ले प्रतिनिधि सघा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने सिफारिस गरेको थियो। राष्ट्रपतिले त्यसैलाई सदर गरेकी हुन् । संविधानको धारा ७६ उपधारा ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।

