• TOKHA LIVE

    • २४ बैशाख २०७८, शुक्रबार २१:०५

    १२ जना सगरमाथाको चुचुरोमा, कामिरिताले २५ औं पटक आरोहणको रेकर्ड बनाए

    टोखा लाइभ । २०७८ वैशाख २४ गते ।

    काठमांडौं। कामीरिता शेर्पाले २५औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो पहिलो आरोहणसमेत हो।

    सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका ५० वर्षीय शेर्पाको टोलीले अहिले बेलुकी ६ बजे सगरमाथा शिखर टेकेको हो। माउन्ट एभरेस्ट रोप फिक्सिङ शेर्पा टीमको नेतृत्व गरेका कामीरितासहित अन्य १२ जना शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। 

    साथीहरूले उनलाई ३०औं पटकसम्म सगरमाथा चढ्न हौस्याइरहेका छन्। “तर, २५ पटकसम्म म चढ्छु भन्ने लाग्छ,” दुई वर्षअघि कामीरिताले भनेका थिए। योसँगै कामीरिताको उक्त लक्ष्य पूरा भएको छ।   

    पर्यटन विभाग अन्तर्गतका पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार, कामीरिताको यो टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ। 

    कामीरिताभन्दा अघि आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१औं पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएका थिए। 

    सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रूपमा सगरमाथा आरोहण गरेका थिए। २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीन पटकसम्म सगरमाथाको शिखर टेके। उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

    थामे प्राविमा कक्षा ४ सम्म पढेका कामीरिता अहिले बौद्धमा डेरा गरी बस्छन्। आरोही शेर्पाको भविष्यप्रति चिन्तित देखिने कामीरिता छोराछोरी भने सगरमाथा नचढून् भन्ने चाहन्छन्।

    “सरकारले हिमालको राजस्वमा मात्र ध्यान दिएको छ, हामी शेर्पाको भविष्यबारे सोचेको छैन,” उनले दुख पोखे ।, “सिजनको कमाइले परिवार धान्ने हो, तलमाथि केही भइहाले कसले हेर्ने !”

    बसन्त ऋतुको यो पहिलो आरोहणसमेत हो। सरकारले यो पटक आरोहणका लागि ४ सयभन्दा धेरैलाई सगरमाथा आरोहणको अनुमति दिएको छ।

    सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १२ जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै