चैत्र १, २०७७ आइतबार
काठमाडौं । तामाङ समुदायले टोखा नगरपालिका वडा नं-१ स्थित झोर महॉकाल मा शनिबार विभिन्न कार्यक्रम गरी सोनाम २८५७ औं ल्होछार पर्व अर्थात नयाँ वर्ष सन्दर्भमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरी मनाएका छन् ।

कोरोना संक्रमणको सर्तकता अपनाउँदै टोखा नगरपालिका वडा नं -१ को सहयोगमा आयोजित कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिका प्रमुख अतिथि प्रकाश अधिकारी र टोखा नगरपालिका वडा नं -१ का वडा अध्यक्ष श्री कृष्ण अधिकारीले उद्घाटन गर्नुहुदै सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले सोनाम ल्होछार तामाङहरुको मौलिक पहिचान, सँस्कृति, सभ्यता भएकाले ल्होछारलाई प्रष्ट बुझ्नुपर्ने बताउनुभयो। सोनाम ल्होछार केहो, ल्होहरु र ल्होकोरको महत्व लगायतले ल्होछारको विविध पक्षमा वडा अध्यक्ष अधिकारीले प्रष्ट्याउनु भएको थियो।

कार्यक्रमका विशेष अतिथि टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै तामाङ एकता, ल्होछारको महत्व र अधिकारका बारेमा सम्पुर्ण सचेत हुन आग्रह गर्नुभएको थियो। वहॉले शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न टोखाको नगरपालिकाको विभिन्न ठाउँमा बसोबास गर्ने तामाङ समुदायले टोखाको झोर महॉकालमा कार्यक्रम गरी मनाएका हुन् ।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिवार नयाँ वर्ष मनाएका हुन् । पात्रो अनुसार शनिवारदेखि २८५६ वर्ष पुरा भई २८५७ वर्ष सुरु भएको छ ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ । टोखा नगरपालिका वडा नं-१ मा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो । तामाङ समुदायका विभिन्न कलाकारहरूले गीत र सांस्कृतिक झाकि समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन कान्ति योन्जन तामाङले गर्नुभएको थियो।





