• TOKHA LIVE

    • २८ फाल्गुन २०७७, शुक्रबार १९:५६

    टोखामा शनिवारे स्थलगत चित्रकला कार्यशाला हुने

    टोखा लाइभ ।२८ फाल्गुन २०७७

    काठमाडौं । सांस्कृतिक शहर टोखा वरपरका रमणीय ठाउँ के तपाईं घुम्नुभएको छ ? कला र सम्पदाका टोखामा कति पटक तपाई पुग्नुभयो ? प्रत्यक्ष घुम्न जान पाउनुभएको छैन भने तपाईंले अब चित्र हेरेर यो रहर पूरा गर्न सक्नुहुन्छ। यही फाल्गुन २९ गते शनिवार देखि चैत्र मसान्त सम्म करिब २५ जना चित्रकारले टोखाको विभिन्न ठाउँमा गएर स्थलगत चित्र कोरेर विस्का: जात्रालाई लक्षित गरी चित्र प्रदर्शन गरिने भएको छ।

    भोलि शनिवार देखि सुरु हुने ‘शनिवारे स्थलगत चित्रकला कार्यशाला’ मा तलेजु क्वाखल टोल विकास संस्थाको आयोजनामा २५ जना मोफसल कलाकारले क्यानभासमा चित्र उतार्ने छन्। सन् २०१८ देखि फेसबुकबाट जोडिएको चित्रकारको समूहले स्थलगत चित्रकला कार्यशालाको सुरुवात गर्ने योजना बनाएको थियो।

    योजनाअनुसार प्रत्येक शनिवार चित्रकारको टोली टोखाको कुनै एक ठाउँमा गएर स्थलगत चित्र कोर्नेछन्। सुरुको हप्ता चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दिपेन्द्रमान बनेपाली लगायत अन्य कलाकारहरू चित्रकारिताका सामाग्री बोकेर टोखा वरिपरी पुग्नेछन र पुरातात्विक सम्पदा र तिनीहरुको ऐतिहासिक महत्व झल्काउने खालको दृष्यलाई उनीहरुले चित्रमा उतार्ने छन।

    चार हप्तासम्म प्रत्येक हप्ता बेग्लाबेग्लै टोखाको विभिन्न ठाउमा गएर कलाकारले चित्र कोर्नेछन। काठमाडौँ वरपरका हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरवार स्क्वायर, ठिमी, स्वयम्भु, चागुनारायण, टेकु, चापागाउँको बज्रबाराही , रसुवा लगायतका विभिन्न ठाउँमा गएर विभिन्न दृष्यलाई चित्रमा उतारी सकेका छन् ।

    आजको चित्र वा दृष्य भोलिको टोखाको इतिहास बन्न सक्छ। आज यो ठाउँमा जे छ भोलि त्यो नहुन सक्छ। एउटै ठाउँमा धेरै चित्रकारले देखेको फरक फरक स्थान विशेषका दृष्य कोरिने गर्छ। यो अभियान सबैका लागि प्रेरणा हुन सक्छ भनेर नै शुरुवात गरिएको अभियन्ता दिवेश प्रधानले टोखा लाइभलाई बताए।

    दिवेशका अनुसार, चित्रकारिता एउटा च्यालेन्जिङ कला हो। स्टुडियो भित्र निकै सुन्दर क्यानभाष बनाउने चित्रकारले पनि स्थलगत रुपमा चित्र बनाउन सक्दैनन्। स्थलगत चित्रकलामा धेरै दृष्यहरुबाट थोरै मात्र दृश्य उतार्नु आफैमा कठिन काम हो। प्रकृति हेरेर दृष्य उतार्न चुनौती हुन्छ।

    सिर्जनात्मकता प्रकृतिबाट नै शुरु हुन्छ। प्रकृतिले छिनछिनमा रंग फेरिरहन्छ। त्यस्तै चित्रकलालाई निखारता ल्याउन प्रकृतिले निकै ठुलो साथ दिने भएकाले स्थलगत चित्र जिवन्त हुने अर्को कलाकार उत्तम डंगोलको स्किारोक्ति छ।

    चित्रकलाको क्षेत्रमा यो एउटा नयॉ प्रयोग भएको चित्रकार दिवेश प्रधानले जानकारी दिए। उनका अनुसार ‘शनिबारे स्थलगत चित्रकला कार्यशाला’ स्वतस्फूर्त रुपमा कलाकारबाट सुरु भएको अभियान हो।’ यो चित्रकला कार्यशाला चैत्र २८ गते सम्म टोखा नगरपालिकाको वडा नं २ र ३ मा चल्नेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै