टोखा लाइभ ।२०७७ फाल्गुन २७ गते ।
काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ ।
पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास गरिन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन रहेको छ ।
आज भगवान् महादेवलाई जाडो हुने जनविश्वाससहित घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ । पशुपतिनाथ दर्शनको काम आज बिहान ४ बजेदेखि शुरु भएको हो । पशुपतिका चार ढोका खोलिएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।

