• TOKHA LIVE

      TOKHA LIVE

    • ७ फाल्गुन २०७७, शुक्रबार ०५:३६

    नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि आफूहरुले अस्वीकार गर्ने अमेरिकी राजदूतको भनाई

    टोखा लाइभ ।फाल्गुन ७, २०७७ शुक्रवार

    नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि आफूहरुले अस्वीकार गर्ने बताएका छन् । उनले नेपाललाई कुनै पनि अमेरिकी एलाइन्समा सहभागी हुन आग्रह नगरेको उल्लेख गर्दै अमेरिकापरस्त होइन, नेपाल परस्त हुनसमेत आग्रह गरे ।

    नेपाली सेनाको कमाण्ड र स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाललाई आफ्नो सार्वभौमसत्ता र स्वायत्तताको रक्षाको प्रत्याभूति गर्न भनिरहेको बताए । अमेरिकी सहयोगको उद्देश्य नेपाललाई अझ अमेरिका लगायत अन्य कुनै पनि मुलुकप्रति निर्भर नभई आत्मनिर्भर बनाउनका लागि रहेको उनले बताए ।

    शीत युद्ध उत्कर्षमा रहेको बेलासमेत अमेरिकाले नेपाललाई सैन्य एलायन्समा जोडिन आग्रह नगरेको स्मरण गर्दै बेरीले अमेरिकाले नेपालसँग सैन्य एलायन्स नखोजेको र नचाहेको स्पष्ट पारे ।

    राजदूत बेरीले एमसीसी जस्तो विकास परियोजनाको विषयमा भ्रम फैलाउन खोजिएको भन्दै एमसीसीलाई सैन्य एलाइन्ससँग जोड्दा नेपालले पाउन लागेको आर्थिक अनुदान कार्यक्रम गुम्न सक्ने खतरा रहेको बताए ।

    अमेरिकी राजदूतले ७० वर्षदेखि नेपाललाई विकासको क्षेत्रमा सहयोग गरेको बताउँदै भने – ‘हामी नेपाल अमेरिकाप्रति र अन्य कुनै पनि मुलुकप्रति निर्भर होस् भन्ने चाहँदैनौं । त्यसैको लागि हामीले नेपाललाई विकासमा सहयोग गरिरहेका छौं ।’

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै