• TOKHA LIVE

    • १५ माघ २०७७, बिहीबार ०६:२६

    शालीनदीमा स्वस्थानी व्रत प्रारंभ, व्रतालुको संख्या ५२ जना मात्र

    टोखा लाइभ ।२०७७ माघ १५ गते

    काठमाडौं । यही माघ १५ गतेदेखि फागुन १५ गतेसम्म एक महिने माधवनारायण स्वस्थानी व्रत साँखुको शालिनदी तीरमा बस्दैछ । यसको सम्पूर्ण तयारी पूरा भएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जानकारी दिएको छ ।

    शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले महिनामै २०/ २५ लाख भक्तजन आउने यो मेला सञ्चालनको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सबैको चासो भएकाले त्यसलाई अनिवार्य पालना गर्नुपर्ने बताएका छन् ।

    जिल्ला प्रशासन र सुरक्षा निकायबाट बारम्बार व्रत पूजा रोक्नका लागि दवाव आए पनि यसलाई संचालन गर्ने तर खुलेको भनेर नभन्ने गरी काम अगाडि बढेको छ ।

    स्थानीय पत्रकार पवनलाल श्रेष्ठका अनुसार कोरोनाको महामारीबीच यस वर्ष सो व्रत र माघ मेला सञ्चालन हुन्छ कि हुँदैन भन्ने जिज्ञासा रहे पनि यसलाई व्यवस्थित गरी संचालन गरिने बताए । उनले यस वर्ष कोभिड–१९ लाई ध्यानमा राख्दै श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालु संख्या करिब ५१ जनामात्रै भएको जानकारी दिए ।

    उनले व्रतालु र भक्तजनको दूरी टाढा गरिएको र व्रतालुलाई भक्तजनले छुन नपाउने पनि बताएका छन् । श्रेष्ठले यसपालि समितिले मेला सञ्चालन नगर्दा पनि केही भक्तजनहरु शालीनदीमा नुहाउन आउने हुँदा उनीहरुको पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाईजर र मास्क वितरण गर्ने तथा होर्डिङ बोर्डहरु राखेर जनचेतना जगाउने बताए ।

    उनले भने, ‘उहाँहरु आफू पनि मास्क लगाएर त आउनु हुन्छ होला नै नभए हामीले यहाँ वितरण गर्छौं । व्रतालुलाई छुन दिन्नौं । हामीले व्रतालुहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न टाढैबाट गर्ने व्यवस्था मिलाएका छौं । दूरी कायम गर्न व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।’

    यसअघि व्रतालुहरुलाई आवेदन दिन माघ १० देखि १२ गतेसम्मको समय दिइएको थियो । तर प्रशासनले व्रत पूजा खोल्नका लागि पूर्णरुपले स्वीकृति नदिएपछि औपचारिक रुपले आवेदन लिइएको छैन । तर ५१ जनाभित्रै रहने गरी व्रतालुहरु पुगेका छन् ।

    महामारी बढेका खण्डमा कुनै पनि बेलामा रोक्न पर्ने अवस्था आउने भएकाले पनि औपचारिक रुपमा यसपालि केही सार्वजनिक गरिएको छैन । आस्थासँग जोडिएको भएकाले पनि बन्द नै नगरेको तर स्वास्थ्य मापदण्डमा भने कडाइ गरिएको छ ।

    माता पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेको आधारमा वरप्राप्तिसँगै परिवारको सुखशान्ति र दीर्घायूको कामना गर्दै स्वस्थानी व्रत बस्ने चलन रहिआएको छ ।

    यस्तो छ स्वस्थानीको महिमा

    यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्खरापुर साँखुस्थित शाली नदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ।

    मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्। पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रुपमा नेपाली समाजमा प्रचलित छ।

    यस अवधिभर टोखाको चण्डेश्वरी , पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने तथा मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ।

    राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणीबहालभित्रसमेत छ। शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ। व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

    स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ। व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ।​

    शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय प्रकाशमान सक्वल्े बताए। स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ।

    ‘मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन, यो पहिले देखिकै यहाँको मौलिक पहिचान हो’, वहॉले भन्नु भयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै