• TOKHA LIVE

    • १२ माघ २०७७, सोमबार ०९:२९

    मेलम्चीको पानी फागुनभित्र काठमाडौंमा !

    २०७७ माघ १२ गते

    काठमाडौं । रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी पहिलो पटक फागुनमा काठमाडौं ल्याउने तयारी भएको छ । पूर्ण रुपमा आउने नभई परीक्षणका लागि फागुनको पहिलो साता पानी छोड्ने गरी तयारी गरिएको हो । सुरुङको मर्मतको काम सकेलगत्तै पानी छाड्ने तयारी गरिएको छ । सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए ।

    ‘करिब सबै काम सकिएको छ । सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएको विज्ञ समूहबाट सुरुङको निरीक्षण पनि गराएका छौं’, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दीगोपनाका लागि केही सुधारका कामहरू सुरू गरेका छौं । २४सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौं ।’ हाल दोस्रो र तेस्रो चरणका लागि पहुँच मार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । मेलम्ची पुल बजारदेखि दोस्रो चरणको लार्के हुँदै याङ्ग्रीसम्म पुग्ने २५ किलोमिटर पहुँच मार्गको निर्माण कार्य भइरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताए ।

    कूल २५ किलोमिटर सडकमध्ये सडक विभागद्वारा १५ र १० किलोमिटर खानेपानी आयोजनाद्वारा निर्माण भइरहेको हो । कालोपत्रसहित दुई लेनको सडक निर्माणका लागि जग्गाधनीहरुलाई क्षतिपूर्ति रकम वितरण भइरहेको बताइएको छ । गत डिसेम्बरमा सकिनुपर्ने उक्त सडकको काम क्षतिपूर्तिमा कुरा नमिल्दा स्थानीयवासीले अवरोध गरेपछि तोकिएको समयभित्र काम पूरा हुन नसक्दा पछि धकेलिएको आयोजनाले जनाएको छ । दोस्रो चरणको लार्के खोलाबाट दैनिक १७ करोड लिटर पानी थप गरिने र यसका लागि मुहानबाट अम्बाथान मुहानको हेडवक्र्स (बाँध) सम्म नौ किलोमिटर सुरुङ निर्माण गरिनेछ । यसैगरी तेस्रो चरणको याङ्ग्री खोलाबाट थप दैनिक १७ करोड लिटर पानी ल्याई दोस्रो मुहानसम्म जोड्न एकदेखि दुई किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अनुमान गरिएकाले जम्मा ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने सूचना अधिकारी पन्तले जानकारी दिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै