माघ ८, २०७७
वासिंटन पोस्ट ।अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा ७८ वर्षिय जो बाइडन हवाइट हाउस प्रवेश गरेका छन् । उनले अमेरिकी समय अनुसार बुधबार १२ बजे संसद् भवन (क्यापिटोल हिल)मा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपतिका रूपमा बाइडनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसबाट सपथ लिएका हुन् ।
बाइडनले बाइबललाई साक्षी राखेर सपथ लिएका थिए । आफूले सिनेटर र उपराष्ट्रपतिका रूपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडनले साक्षी राखेका हुन् । कोभिड-१९ को कारण सपथग्रहण कार्यक्रम अघिल्ला राष्ट्रपतिका कार्यकाल झै भब्य थिएन । कार्यक्रम पनि छोटा थिए भने पाहुना पनि कमै उपस्थित गराइएको थियो । बाहिर सुरक्षा व्यवस्था पनि निकै कडा गरिएको थियो । 
बाइडनले कडा सुरक्षा घेरामा रहेर परम्परागत शैलीमा तर पहिलेको दाँजोमा निकै छोटो शपथ लिएका थिए । ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका साथ अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको पूर्ण रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ,’ सपथमा भने।
स्वस्थ्य सुरक्षा मापदण्ड अपनाएर करिव १२ सय जना पाहुनाको सहभागिता त्यहाँ थियो । सबैले स्वास्थ्य सुरक्षा परिक्षण र आवश्यक मापदण्ड सहित उनीहरू सहभागि थिए । बाइडनले शपथ खानु अघि नै अमेरिकी संसद् भवन वरपर र त्यस क्षेत्रमा ३० हजार बढी सैनिक तैनाथ गरिएका थिए । संसद् भवनमा भएको पछिल्लो आक्रमण पछि अमेरिकामा पहिलोपटक आफ्ना राष्ट्रपतिको शपथ समारोह यत्ति धेरै सैन्य बल खटाइएको हो ।
अमेरिकीले सपथमा यति खतरा कहिल्यै अनुभव गरेका थिएनन् । दुई साता अघि बाइडनको जीतलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र चलिरहँदा हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेकाले यस्तो खतरा अनुभव भएको हो । उक्त हमलामा एक सुरक्षाकर्मीसहित ५ जनाको मृत्यु भएको थियो ।
घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको बताएपछि यस्तो सुरक्ष प्रवन्ध गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका थिए ।
शपथलगत्तै १५ आदेशमा हस्ताक्षर :
बारक ओबामा दुई कार्यकाल राष्ट्रपति रहँदा उनका उपराष्ट्रपतिका रूपमा सहकार्य रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन । उनले पहिले दिन नै आफ्ना निर्णयले पुराना केही निर्णय उल्टाएका छन् । उनी सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्ने हुनाले आम जनतालाई छुने निर्णयलाई सकारात्मक रुपमा प्रस्तुत गर्दैछन् ।
वाइडेनले १५ कार्यकारी आदेश :
(एक्जिक्युटिभ एक्सन) मा हस्ताक्षर गरेका छन् । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका कतिपय अस्वभाविक निर्णय उल्ट्याउन उनले त्यस्तो हस्ताक्षर गरेका हुन । कोरोना महामारी र जलवायु परिवर्तनबारे आफ्ना प्रारम्भिक योजनाहरू लागु गर्ने उनका सहयोगीहरूले बताएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
महामारी, अर्थतन्त्र, जलवायु परिवर्तन र जातीय असमानतासँग जोडिएका लगायत कैयन समस्याहरुलाई सम्बोधन गर्न त्यस्तो हस्ताक्षत्र गर्दै र गर्ने तयारीमा छन् । अमेरिकाका केन्द्रीय निकायहरू, त्यहाँ कार्यरत् कर्मचारीलाई मास्कसम्बन्धी अधिकार प्रदान गर्ने र कोभिडसँग सम्बन्धित मामिलामा समन्वय गर्न राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै एउटा नयाँ कार्यालय स्थापना गर्ने तयारी गरेका छन् ।
पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने र जलवायु परिवर्तनका समस्या समाधान गर्न व्यापक कदमहरू चाल्ने निर्णय उनले अघि बढाउने बताइसकेका छन् । ट्रम्प प्रशासन पेरिस जलवायु सम्झौताबाट बाहिरिएकोमा विश्वले अमेरिकालाई पुनः त्यसमा आउन अग्रह गरिरहेको थियो ।
वाइडेनले मेक्सिको सीमामा पर्खाल लगाउने निर्णय र मुस्लिम बाहुल्य रहेका मुलुकबाट अमेरिका यात्रामा लगाइएका बन्देजहरु हटाइनेछन्। त्यसैगरी, ट्रम्पको कार्यकालमा ट्रान्सजेन्डर अमेरिकीहरुलाई सैनिक सेवामा लगाइएको बन्देज हटाउने र विदेशमा गर्भपतनसम्बन्धी कार्यक्रमका लागि दिइने आर्थिक सहयोग रोक्ने ट्रम्पकालीन नीतिलाई उल्ट्याउने भनिएको छ ।
लिइन कमलाले उपराष्ट्रपतिको सपथ :
बाइडन लगत्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन् । चार वर्षे ट्रम्प युगको अन्त्य गर्दै बाइडन अमेरिकी राष्ट्रपति भए भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् । उपराष्ट्रपतिका रुपमा कमलाले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिइन् । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिएकी हुन् ।

‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तव्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान,’ सपथग्रहणमा कमला भनिन् ।
क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनकाबीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी थिइन् । उपराष्ट्रपति कमला क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ मा जन्मिएकी हुन् । उनका बुबा जमैका र आमा भारतबाट अमेरिका आएका हुन् ।
इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडनलाई नै चुनौती दिएकी थिइन् । तर उनी राष्ट्रपतिको चुनावी दौडबाट आफैं पछाडि हटिन र अहिले बाइडनकै उपराष्ट्रपति भइन ।

