बसन्त ऋतुको आगमन हुँदै गरेको बेलाबखत संगै चैत्र महिनाको समय थियो । बिहानी पख सुर्य उदाइ रहेको थियो । यतिबेला पहाडमा लालिगुरा फुलेर ढकमक भइ हिमाल का हिउँ पक्लिने बेला हो । चराहरु अनेकौँ धुन गुञ्जाउँदै थिए । खोलाहरु सलल बगिरहेका थिए । मलाई पनि यस सुन्दर वतावरणमा आफ्नो सुन्दर कलालाई पोख्न मन लाग्यो । त्यसैले आज सम्झिदै छु ती मेरा अविस्मरणीय दिनहरु भन्ने शिर्षक लिएर लेखन तिर जान मन लाग्यो ।
हुम्ला जिल्ला खार्पुनाथ वडा न. ४ , माजा निवासी ,म एउटा साधारण साक्षर कृषक परिवारमा जन्मेको विद्यार्थी हुँ। मैले जन्म मेरै गाउँ मेरै जिल्लामा लिए पनि मेरो बाल्यकालका अधिकांश समय करिब 8 वर्षको जीवन यात्रा काठमाडौं शहरमा बितेको छ ।त्यसैले जब म मेरो बाल्यकाल सम्झन्छु ,तब म मेरो गाउँघरका आसपासका हरियाली जङ्गल ,साथिभाइ , आमा शीत गएर खेतबारीमा काम गरेको , मेरो गाउँ नजिकै आफ्नै वेगमा सलल बगिरहेको नेपालको सबैभन्दा लामो कर्णाली नदी लगायत अरु साना तिना नदी , झरना , हिउँको बेला वारिपारि हिमालमा हिउँले सेतै भएको हिमाल , चैतमस लालिगुरा फुलेर ढकमक भएको दृश्य अनि बिहानै चराचुरुङ्गी गाइबस्तुको आवास सम्झन्छु । यी सबै चिज देखेर सम्झेर नेपालको एउटा विकट ठाउँ भए पनि यहाँ जन्म लिएर गर्ब महसुस गर्छु।
म एउटा साधारण साक्षर कृषक परिवारमा जन्मेको व्यक्ति हुँ। बाल्यकालको कुरा गर्दा उति बेलाका गतिविधि र घटनाहरुको ताजा सम्झना भएर आउछ ।म सानो छँदा मेरो घरमा आमालाई खेतबारी , भान्सामा सघाउने मान्छे नै थिएनन् । आमाको दु: ख , कष्ट हेर्दा मलाई पनि काम गर्न जागर चल्थ्यो। जब विद्यालय जाने उमेर भयो तब बुबाले मलाई नजिकको विद्यालय भर्ना गरि दिनुभयो।तर घरको कामले विद्यालय जान पनि एकादसी को व्रत बसे जसरी पर्खनु पर्थ्यो। जुन दिन विद्यालय जान्थे, त्यहीँ दिन ज्ञान-आर्जन गर्ने मौका पाउथिए ।मेरा ति दिनहरू विद्यालय आउने जाने क्रममा र घरको काम काच्मा बित्ने गर्थिए । बिदाका दिनमा पनि गाउँले साथीहरू खेल्न जान्थे म भने त्यही घरायसी काममै व्यस्त हुन्थे। मलाई कक्षाका साथीहरू निकै मन पराउथे। मलाई विद्यालय जान कहिल्यै अल्छी लागेन। जब अलि ठूलो भए , एउटा हातमा एउटा भाइको हात समातेर, पछाडि आफ्नो झोला अनि कादमा बहिनी लिएर विद्यालय जाने गर्थे ।
म सानेदेखि अली गम्भीर स्वभावको थिए। मलाई नचाहिँदो कुरामा जिद्दी गर्ने स्वभावको थिन। म आफूभन्दा ठूलालाई आदर गर्थे र साना लाई माया गर्थे । जो कोहिलाई पनि सहयोग गर्थे ।मेरो यस्तो बानीबेहोरबाट घरका सबै जना प्रसन्न हुनुहुन्थ्यो त्यति मात्रै होईन आफन्तजन पनि खुसी हुन्थे । म खानेकुरोमा पनि अनावश्यक झगडा गर्दिनथें। आमाले जे जस्तो खान दिनुहुन्थ्यो म त्यही खाई दिन्थे, मेरो बुबा आमाको मायाको छहारीमा कमै वर्ष बिताए ।हुन त माया नजिकै भएर हुदैन तर विभिन्न परिस्थितिले बुवाआमा बाट टाढा हुन पुगे ।
जब म कक्षा ४ मा हुँदा काठमाडौंमा आए र जनपथ मा. वि मा भर्ना भए ।त्यस विद्यालयमा मैले तीन / चार वर्ष अध्ययन गरे ।मैले बिस्तारै आफुलाइ लागेका कुरा लेख्ने कविता , निबन्ध लेखन पनि गरे जब म 7 कक्षा पास गरे अनि म चाबहिल स्तुपा को काखैमा रहेको पशुपति मित्र मा. वि मा भर्ना भए । अहिले निरन्तर त्यहीँ विद्यालयमा कक्षा ११ मा पुगेको छु। मेरो बाल्यकाल शीत गासिएका यस्ता अनेक सन्दर्भहरु छन, जसलाई म यो छाेटाे लेख मा चाहेर पनि उल्लेख गर्न सग्दिन।बाल्यकालमा के मात्र गरिन र गुरुहरुलाई आदर गर्न जानियो । मैले सानै देखि कक्षाको captain हुने मौका पनि पाए । राजनितीक कुरा पनि सिकियो , त्यति मात्रै होईन हाल अहिले नेविसंघ हुम्ला काठमाडौ सम्पर्क समितीको सह-सचिब पनि छु। परिवार र समाजप्रति उत्तरदायी हुन सकियो। सानालाई माया र ठुलालाई आदर गर्न पनि सकियो । त्यसैले त मेरो बाल्यकाल रमाइलो यात्रामा बित्दै गइरहेको छ ।
मानिसको जीवनमा सबैभन्दा सुखको क्षण यसको बाल्यकाल नै रहेछ भन्ने कुरा मैले अहिले आएर थाहा पाए। सानो छदाँ सबैको मायामा लुटपुटिन पाइने रहेछ । मेरो बाल्यकाल दुख सुख जे भए पनि जस्तो परिस्थिति त्यस्तै समय सन्दर्भ शीत जोडिएर बितेकोले सबैको बाल्यकाल सुखमै हुन्छ होस् भन्ने चाहन्छु। त्यसैले आज भोलि म घरीघरी आफ्नो बाल्यकालको मीठो सम्झना गरेर मन बहलाउने गर्दछ। कहिलेकाहीँ त् मलाई फेरी बाल्यावस्थामै फर्कू कि जस्तो लगेर आउँछ।
• देवजङ्ग शाही