• TOKHA LIVE

      TOKHA LIVE

    • २५ आश्विन २०८३, आईतवार २१:१८

    ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

    काठमाडौं, असोज २४। साहित्यकार पारिजातका साहित्यिक कृतिलाई चित्रमार्फत प्रस्तुत गर्दै म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा ‘क्यानभासमा पारिजात’ शीर्षकको एकहप्ते चित्रकला प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ।

    नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै एक स्रष्टाको सिर्जनालाई अर्को स्रष्टाले कलामार्फत अभिव्यक्त गर्नु नयाँ सिर्जनात्मक अभ्यास भएको बताए। यसले स्रष्टाहरूबीचको बुझाइ र दृष्टिकोणको भिन्नता पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

    प्रदर्शनीमा सहभागी कलाकार सौरगंगा दर्शनधारीले साहित्यिक कृतिमाथि चित्र सिर्जना गर्नु चुनौतीपूर्ण भए पनि रङ र रेखामार्फत त्यसको भावनात्मक गहिराइ बुझ्न सकिने बताइन्।

    नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले साहित्यलाई चित्रकलामार्फत प्रस्तुत गर्ने कार्यले सिर्जनामा नयाँ आयाम थप्नुका साथै सामाजिक रूपान्तरण र जागरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    त्यस्तै, डा. महेश मास्केले चित्रकलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउने प्रयास भएको बताए। पारिजात स्मृति केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष सुकन्या वाइवा र अध्यक्ष इन्दिरा दलीले पनि कलामार्फत पारिजातको साहित्यिक योगदानलाई नयाँ ढङ्गले प्रस्तुत गरिएको धारणा व्यक्त गरे। कार्यक्रममा डा. अमृता शर्माले सहजीकरण गर्दै पारिजातको समता, न्याय र प्रगतिवादसम्बन्धी योगदानबारे चर्चा गरिन्।

    प्रदर्शनीमा पारिजातका कविता, कथा, उपन्यास तथा आत्मसंस्मरणबाट प्रेरित १६ जना कलाकारका कलाकृति राखिएका छन्। सहभागी कलाकारमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशवराज खनाल, डिबी भण्डारी, लीलाधर केसी, मोहन सिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकाल रहेका छन्।

    प्रदर्शनीमा आधुनिक समसामयिक, मिथिला, पर्वते तथा थाङ्का शैलीका चित्रहरू समावेश छन्। यसले पारिजातको साहित्यिक योगदानलाई दृश्यकलामार्फत बुझ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै