• TOKHA LIVE

      TOKHA LIVE

    • ४ आश्विन २०८३, आईतवार २०:५५

    नवौँ घरजग्गा प्रदर्शनी : सस्तो घरमा बढ्यो आकर्षण,हदबन्दी बाधक

    काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार सम्पन्न हुँदैछ। प्रदर्शनीमा अपेक्षाभन्दा बढी सर्वसाधारणको सहभागिता देखिनुका साथै घर तथा जग्गा खरिदमा समेत उत्साह बढेको आयोजकले जनाएको छ।

    नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार आइतबार दिउँसो १२ बजेसम्म मात्रै ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन्। अन्तिम दिन थप २५ देखि ३० हजारसम्म अवलोकनकर्ता आउने अपेक्षा गरिएको उनले बताए।

    घिमिरेका अनुसार यसपटकको प्रदर्शनीमा महँगा आवासीय परियोजनाभन्दा सर्वसाधारणले सहजै खरिद गर्न सक्ने कम लागतका घर तथा जग्गाप्रति बढी आकर्षण देखिएको छ।

    उनले विगतका प्रदर्शनीको तुलनामा यसपटक बिक्रीसमेत बढेको बताए। उनका अनुसार करिब १ करोड ४० लाख रुपैयाँसम्म मूल्य पर्ने ५० भन्दा बढी घर बिक्री भइसकेका छन् भने शनिबारसम्म करिब ७० वटा घर बिक्री भएको तथ्यांक छ।

    काठमाडौं उपत्यकाबाहिरका चितवन, दाङ र सुनसरीलगायत क्षेत्रमा रहेका जग्गाप्रति पनि खरिदकर्ताको चासो बढेको उनले बताए। विगतमा प्रदर्शनीपछि फलोअपमार्फत हुने कारोबार यसपटक भने प्रदर्शनीस्थलबाटै बुकिङ गर्ने क्रम बढेको घिमिरेको भनाइ छ।

    टोखा–झोरका सस्तो घरमा आकर्षण

    हाउजिङ तथा घरजग्गा विकासमा सक्रिय ग्रान्डी डेभलपर्सका अध्यक्ष दीपक कुँवरले प्रदर्शनीमा सर्वसाधारणको पहुँचमा हुने ‘एफोर्डेबल’ आवासलाई प्राथमिकता दिइएको बताए।

    उनका अनुसार टोखा–झोर क्षेत्रमा साढे दुई आनामा बनेका दुई तले, तीन बेडरुमका घर १ करोड ४० लाख रुपैयाँमा बिक्रीका लागि राखिएको छ। तीमध्ये करिब ८० देखि ८५ प्रतिशत घर बुकिङ भइसकेको उनले जानकारी दिए।

    ग्राहकलाई सहज बनाउन चरणबद्ध भुक्तानीको सुविधा उपलब्ध गराइएको तथा लक्ष्मी बैंकमार्फत ५.४९ प्रतिशत ब्याजदरमा १०, १५ र २० वर्ष अवधिको कर्जा सुविधा रहेको उनले बताए।

    घरजग्गा व्यवसायीहरुले भने क्षेत्रको प्रमुख समस्या जग्गा हदबन्दी रहेको बताएका छन्। कुँवरका अनुसार हदबन्दीका कारण ठूलो परिमाणको सम्पत्ति रोकिएको छ।

    उनले भने, “साथीहरूको २ खर्बभन्दा बढीको प्रोपर्टी रोक्कामा छ। बिक्री गरिएका घरहरू पनि पास हुने अवस्थामा छैनन्। त्यसकारण उपभोक्ताहरूको विश्वास कमजोर भइरहेको छ।”

    हदबन्दीसम्बन्धी समस्या समाधान गर्न सके घरजग्गा बजारमा ठूलो रकम पुनः चलायमान हुने उनको दाबी छ। घरजग्गा कारोबार बढ्दा निर्माण क्षेत्रमा प्रयोग हुने रड, सिमेन्टलगायत सामग्री उत्पादन गर्ने उद्योगमा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए।

    दैनिक २०० भन्दा बढी ग्राहक, बुकिङ पनि उत्साहजनक

    गृहलक्ष्मी रियल्टी लिमिटेडका जनरल म्यानेजर निरज खड्काका अनुसार प्रदर्शनी अवधिभर उनको स्टलमा दैनिक २०० देखि २५० जनासम्मले जानकारी लिएका थिए। तीमध्ये दैनिक १२ देखि १५ वटासम्म बुकिङ भएको उनले बताए।

    उनका अनुसार मनमैजु रेसिडेन्सीमा २५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरिएको थियो। त्यस्तै, बनेपाको नागीडाँडा ग्रीन हिल्समा चार आनाभन्दा बढी जग्गासहितका घर ३ करोड रुपैयाँमा उपलब्ध गराइएको थियो।

    बाढीपछि पनि प्रदर्शनी सफल

    आयोजकका अनुसार करिब सात महिनाअघि नै प्रदर्शनीको तयारी सुरु गरिएको थियो। तर भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रदर्शनी गर्ने कि नगर्ने भन्ने अन्योल उत्पन्न भएको थियो।

    अन्ततः बाढी तथा विपद्को अवस्थालाई समेत ध्यानमा राख्दै प्रदर्शनीलाई शिक्षामूलक र सुरक्षित आवाससम्बन्धी जानकारी दिने माध्यमका रूपमा अघि बढाइएको अध्यक्ष घिमिरेले बताए।

    चार दिनसम्म चलेको प्रदर्शनीमा घर तथा जग्गाको खरिद–बिक्रीका अतिरिक्त सुरक्षित, व्यवस्थित र आधुनिक आवास निर्माणका विषयमा विज्ञ तथा इन्जिनियरबाट जानकारी तथा प्रशिक्षणसमेत दिइएको आयोजकले जनाएको छ।

    व्यवसायीहरुले २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाका कारण आफूहरु समस्यामा परेको बताउँदै आएका छन्। उक्त व्यवस्थाअनुसार कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने प्रावधान छ। यसका कारण २०७६ अघि जग्गा खरिद गरी अपार्टमेन्ट तथा आवासीय परियोजना सञ्चालन गरेका सयौँ कम्पनीले निर्माण सम्पन्न भएका संरचनासमेत सहज रूपमा बिक्रीवितरण गर्न नसकेको व्यवसायीहरुको गुनासो छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै