• TOKHA LIVE

      TOKHA LIVE

    • १ आश्विन २०८३, बिहीबार १८:५०

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

     

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) फिफाबाट भएको निलम्बन फुकुवा गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग आग्रह गरेको छ।

    एन्फा महासचिव किरण राईले बिहीबार पत्रकार सम्मेलन गर्दै राखेपको निर्देशनका कारण घरेलु फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई विधानअनुसार स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्।

    फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै २४ जुन २०२६ मा एन्फालाई निलम्बन गरेको थियो। त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितासँगै घरेलु फुटबलका गतिविधिमा समेत असर परेको एन्फाको भनाइ छ।

    एन्फाका अनुसार निलम्बनका कारण राष्ट्रिय टोलीको तयारी, महिला तथा पुरुष लिग, युथ लिग, स्कुल फुटबल, ग्रासरुट कार्यक्रम र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको छ। कर्मचारी, खेलाडी, प्रशिक्षक तथा रेफ्रीको पारिश्रमिकमा समेत समस्या आएको एन्फाले जनाएको छ।

    एन्फाले निलम्बन फुकुवाका लागि राखेपको २५ मार्च २०२६ को निर्णय खारेज गर्नुपर्ने तथा एन्फाको निर्वाचन प्रक्रिया विधानअनुसार अघि बढाउन पाउनुपर्ने विषयलाई प्रमुख सर्तका रूपमा प्रस्तुत गरेको छ।

    सेप्टेम्बर अन्त्यसम्म निलम्बन फुकुवा नभए नेपालले साफ च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउन नसक्ने अवस्था आउन सक्ने एन्फाले जनाएको छ। पछिल्लो समय सरकार र एन्फाबीच प्रत्यक्ष संवाद हुन नसकेको विषयसमेत सार्वजनिक भएको छ।

    एन्फाले फिफा तथा एएफसीसँग समन्वय गरी निलम्बन यथाशीघ्र फुकुवा गर्न र नेपाली फुटबललाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै