भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भदौ ३१, बुधवार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा १९३, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।
हालसम्म १ हजार २३५ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी ३ हजार १९० वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
यसैबीच, ४ हजार ८९ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा २ हजार ८४ जना राखिएका छन्।