काठमाडौं । जापानी वरिष्ठ फोटो पत्रकार नोबोरु तोकाओकाले खिचेका नेपाल तथा जापानका कला, संस्कृति र परम्परा झल्काउने करिब ३० तस्बिर काठमाडौंमा प्रदर्शन गरिएको छ।
राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा तीजको अवसर पारेर हेरिटेज प्यालेसमा आयोजित एकल प्रदर्शनीमा जापानका रथयात्रा तथा सांस्कृतिक परम्परासँग सम्बन्धित तस्बिर राखिएका छन्।
समूहका अध्यक्ष प्रदीप राज वन्तले दुई देशबीच कला, संस्कृति र सम्पदा आदानप्रदान तथा फोटो पत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रदर्शनी गरिएको बताए। आगामी दिनमा नेपाली फोटोहरू जापानमा समेत प्रदर्शन गर्ने योजना रहेको उनले जानकारी दिए।

