काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले नेवा: गुथि टोखाले ३५ थान ब्लाङ्केट सहयोग गरेको छ। गुथिले संकलन गरेको ब्लाङ्केट टोखा नगरपालिका वडा नं. २ को कार्यालयमा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
रसुवाको भोटेकोशी, टिमुरे, ब्राबल, केरुङलगायत क्षेत्रमा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले राहत सहयोग गरिएको नेवा: गुथि टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो। विपद्को कठिन घडीमा गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई राहतसँगै आत्मीयता र न्यानोपनको अनुभूति दिलाउने विश्वास गुथिले लिएको छ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं. २ का जनप्रतिनिधि, वडा सचिव तथा नेवा: गुथि टोखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। पीडामा साथ, दुःखमा सहारा र संकटमा मानवीयता भावनासहित नेवा: गुथि टोखा बाढीपीडित परिवारको साथमा उभिएको जनाएको छ।


