काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिहीबार बिदाइ गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री सस्मित पोखरेलले खेलाडीलाई निर्धक्क भएर खेल्दै देशको शिर उच्च बनाउने गरी प्रदर्शन गर्न आग्रह गरे।
उनले खेलाडीको मेहनत, अनुशासन र तयारीको प्रशंसा गर्दै नतिजाभन्दा देशको प्रतिनिधित्व गर्दै गरेको परिश्रम र त्याग महत्वपूर्ण रहेको बताए।
मन्त्री पोखरेलका अनुसार प्रतियोगितामा नेपालबाट २१ खेलमा ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडी सहभागी हुनेछन्। टोलीमा प्रशिक्षक, व्यवस्थापक, मेडिकल टिम, पत्रकार तथा अन्य अधिकारीसहित २११ जना रहनेछन्।
उनले जापानमा खेलभावना र अनुशासन कायम राख्दै आफ्नो उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए। कराते टोली जापान गइसकेको र अन्य टोली विभिन्न मितिमा जापान जाने उनले जानकारी दिए।
मन्त्री पोखरेलले आगामी दिनमा खेलाडीले पाउने सम्मान तथा सुविधालाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

