• TOKHA LIVE

      TOKHA LIVE

    • २५ भाद्र २०८३, बिहीबार २१:३८

    ग्यास नियमित रूपमा आइरहेको छ, तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

    काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन्।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा आयात भइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको बताए।

    उनले ग्यास अभावको समस्या झन् जटिल बन्दै गएको भन्दै समस्या कहाँ छ भन्ने विषय जनताले समेत थाहा पाउने गरी सम्बन्धित पक्षबीच छलफल गर्नुपर्नेमा जोड दिए।

    श्रेष्ठले मन्त्रालय, आयल निगम, उद्योगी र व्यापारीलाई सहभागी गराएर तत्काल प्रत्यक्ष बैठक गरी समस्या पहिचान गर्नुपर्ने बताए। उनले हाल २० वटा गाडीबाट ग्यास ढुवानी भइरहेको भए त्यसलाई बढाएर सयवटासम्म पुर्‍याउन सके समस्या छिट्टै समाधान गर्न सकिने धारणा राखे।

    उपभोक्ताले पनि आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै श्रेष्ठले ‘ओभर स्टक’ले समेत अभावको अवस्था सिर्जना गर्न सक्ने बताए। कृष्णभीरको पहिरोमा काम भइरहेकाले सडक खुलेपछि ग्यास आपूर्ति पुनः नियमित हुने उनको भनाइ थियो।

    दीर्घकालीन रूपमा ग्यासमा निर्भरता घटाउन सरकारले विद्युतीय चुलोमा विशेष छुट दिने योजना ल्याउनुपर्ने र नेपालमै ग्यासका सम्भावित स्रोतको खोज तथा उत्खनन सुरु गर्नुपर्नेमा पनि श्रेष्ठले जोड दिए।

    उनले काठमाडौं उपत्यका, विपद् प्रभावित जिल्ला तथा अन्य क्षेत्रका लागि कमान्ड सेन्टरमार्फत छुट्टाछुट्टै संयन्त्र बनाएर ग्यास आपूर्ति व्यवस्थापन गर्नुपर्ने सुझावसमेत दिए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै