काठमाडौँ । अस्ट्रेलियाको काटुम्बा तथा ब्लु माउन्टेन्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपालमा हालै आएको बाढी तथा विपत्तिबाट प्रभावितका लागि ११ हजार २७३ अस्ट्रेलियन डलर (करिब १२ लाख २५ हजार रुपैयाँ) सहयोग रकम संकलन गरेको छ।
ब्लु माउन्टेन्स नेपाली समुदायको पहलमा आयोजित सहयोग अभियानमार्फत उक्त रकम संकलन गरिएको हो। संकलित रकम विपत्तिबाट प्रभावित व्यक्ति तथा परिवारको राहत तथा कल्याणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकिएको समुदायले जनाएको छ।
सहयोग अभियानमा काटुम्बा तथा ब्लु माउन्टेन्स क्षेत्रका २०० भन्दा बढी व्यक्ति सहभागी भएका थिए। स्थानीय बासिन्दा, व्यवसायी, साथीभाइ तथा परिवारसहित विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको समुदायले जनाएको छ।
समुदायले अभियानबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै विपत्तिको कठिन समयमा नेपाल र नेपालीप्रति देखाइएको माया, सद्भाव र ऐक्यबद्धता अविस्मरणीय रहेको जनाएको छ।
‘काटुम्बा र ब्लु माउन्टेन्सले एउटा सुन्दर समुदाय कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ,’ समुदायले जनाएको छ, ‘सहयोग गर्ने सम्पूर्ण महानुभावहरूको उदारता र आत्मीयताले हाम्रो मन गहिरोसँग छोएको छ।’
समुदायले सहयोग गर्ने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेको छ।

