• TOKHA LIVE

      TOKHA LIVE

    • २४ भाद्र २०८३, बुधबार २१:५२

    बुढानीलकण्ठ–७ मा सालको पातबाट दुना–टपरी उत्पादन गर्ने उद्योग सञ्चालनमा

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ मा महिलाहरूको समूहले स्थानीय स्रोतको सदुपयोग गर्दै सालको पातबाट दुना–टपरी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ।

    नगरपालिकाको नगर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम तथा ६० प्रतिशत अनुदानमा मेसिन प्राप्त गरेपछि ‘शाहासी महिला समूह’ले उद्योग सञ्चालनमा ल्याएको हो। समूहका सदस्यहरूले नगरपालिकामार्फत दुना–टपरी बनाउने सीपमूलक तालिम लिएपछि उद्योग दर्ता गरी उत्पादन सुरु गरेका हुन्।

    उद्योगको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता तथा वडा नं. ७ का वडा अध्यक्ष बस नारायण महर्जनको विशेष आतिथ्यतामा गरिएको थियो।

    स्थानीय रूपमा सहजै उपलब्ध हुने सालका पातलाई उपयोग गरी वातावरणमैत्री दुना–टपरी उत्पादन गर्ने लक्ष्य समूहले लिएको छ। यसबाट परम्परागत सामग्रीको संरक्षणसँगै स्थानीय कच्चा पदार्थको सदुपयोग र आयआर्जनको अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।

    नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको उद्योगले विशेषगरी महिलालाई सीप, रोजगारी र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। समूहले उत्पादनलाई विस्तार गर्दै स्थानीय बजारसँगै अन्य क्षेत्रमा समेत दुना–टपरीको बिक्री–वितरण गर्ने लक्ष्य लिएको जनाएको छ।

    यस कार्यक्रमले महिलालाई तालिममा मात्र सीमित नराखी सीपलाई उद्यममा रूपान्तरण गरी आम्दानीको स्रोत बनाउने वातावरण तयार गरेको छ। स्थानीय स्रोत, प्रविधि र महिलाको श्रमलाई जोडेर सञ्चालन गरिएको यो उद्योग बुढानीलकण्ठमा महिला उद्यमशीलताको उदाहरणसमेत बनेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै