काठमाडौं । हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाइन्छ। यस वर्ष ‘मुटु तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।
विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका फिजियोथेरापिस्ट प्रतिक पोखरेलले मुटु रोग तथा पक्षघातको रोकथाम, उपचार र पुनःस्थापनामा फिजियोथेरापी तथा नियमित शारीरिक गतिविधिको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
आइसीयू, क्रिटिकल केयर तथा कार्डियो–रेस्पिरेटरी फिजियोथेरापीमा विशेषज्ञता हासिल गरेका पोखरेलका अनुसार मुटु रोग र पक्षघातजस्ता समस्या देखिएपछि उपचार गर्नुभन्दा जोखिम पहिचान गरी सुरुदेखि नै रोकथामतर्फ ध्यान दिनु बढी प्रभावकारी हुन्छ।
उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान तथा शारीरिक निष्क्रियताजस्ता जोखिमलाई समयमै पहिचान र व्यवस्थापन गर्न सके यस्ता रोगको जोखिम घटाउन सकिने उनको भनाइ छ। व्यक्तिको शारीरिक क्षमता परीक्षण गरी सोहीअनुसार उपयुक्त व्यायाम तथा शारीरिक गतिविधि तय गर्न फिजियोथेरापीले सहयोग गर्ने उनले बताए।
पोखरेलका अनुसार व्यायाम शरीर चलाउने मात्र नभई मुटु र मस्तिष्कको स्वास्थ्यमा गरिने एक प्रकारको लगानी हो। नियमित शारीरिक गतिविधिले शरीरलाई सक्रिय राख्नुका साथै मुटु तथा रक्तनलीसम्बन्धी समस्या र पक्षघातको जोखिम कम गर्न सहयोग गर्ने उनको धारणा छ।
पक्षघात भइसकेका बिरामीको पुनःस्थापनामा पनि फिजियोथेरापीलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ। शारीरिक शक्ति, सन्तुलन, चालढाल तथा दैनिक गतिविधि गर्ने क्षमता सुधार गर्दै बिरामीलाई पुनःसामान्य जीवनमा फर्काउन फिजियोथेरापिस्टको भूमिका रहने पोखरेलले बताए।
‘मुभमेन्ट’ अर्थात् शरीरको चाल नै स्वास्थ्यको आधार भएकाले निष्क्रिय भएर बस्नुभन्दा आफ्नो क्षमताअनुसार नियमित व्यायाम तथा शारीरिक गतिविधिमा संलग्न हुनुपर्नेमा पोखरेलले जोड दिएका छन्।
(डा. पोखरेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका फिजियोथेरापिस्ट हुन् ।)


