• TOKHA LIVE

      TOKHA LIVE

    • २२ भाद्र २०८३, सोमबार १८:३०

    बाढीपीडितका लागि नेपाली कांग्रेसको एक करोड सहयोग

    नबिना श्रेष्ठ,

    काठमाडौं ०८३ भदौ २३। रसुवा, नुवाकोटलगायतका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेसले एक करोड रुपैयाँ सहयोग गरेको छ।

    कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरेको हो। कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेको जनाएको छ।

    चेक हस्तान्तरण कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

    केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।

    विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित बसोबासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कांग्रेसले सरकारको राहत कोषमा रकम उपलब्ध गराएको महामन्त्री पौडेलले बताए।

    पौडेलले विपद्को समयमा नेपाली कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको बताए। उनले बाढीपहिरोका कारण विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति समेत चिन्ता व्यक्त गरे।

    “सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,” पौडेलले भने।

    उनले भोटेकोशी र त्रिशूली आसपासका प्रभावित नागरिकको उद्धारलाई तीव्र बनाउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे।

    राहत वितरणलाई पारदर्शी बनाउन र आगामी दिनमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत पौडेलले जोड दिए।

    बेपत्ताको खोजी, प्रभावितको उद्धार तथा विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको उनले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै