टाेखा काठमाडौं भदौ २०। कृष्ण जन्माष्टमीका अवसरमा बागमती प्रदेशका उद्योग,संस्कृति पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले टोखाको मौलिक कला, संस्कृति, जात्रा तथा परम्पराको अवलोकन गरेका छन्। अवलोकनका क्रममा मन्त्री प्रजापतिसँगै उहाँका स्वकीय सचिव सञ्जीवमान प्रजापति पनि सहभागी थिए।
सांस्कृतिक अवलोकनका क्रममा मन्त्री प्रजापतिले टोखामा रहेका श्री इन्द्रायणी दापा खलः, श्री चण्डेश्वरी भजन तथा श्री पिगं द्यः दापा खलःमा आयोजित कृष्ण जन्माष्टमीसम्बन्धी भजन, सांस्कृतिक गतिविधि तथा पूजापाठको अवलोकन गरेका थिए।
सो अवसरमा श्री इन्द्रायणी दापा खलःका अध्यक्ष नाति डंगोल, उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ तथा खलःका जलगाञं गुरु चन्द्रमान डंगोलले मन्त्री प्रजापतिलाई खादामाला पहिराउँदै स्वागत गरेका थिए। खलका अग्रजहरूले जात्राको फूल तथा प्रसादसमेत मन्त्री प्रजापतिलाई ग्रहण गराएका थिए।
टोखाको मौलिक सांस्कृतिक परम्परा, धार्मिक गतिविधि तथा सम्पदाबारे जानकारी लिँदै मन्त्री प्रजापतिले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका यस्ता परम्पराको संरक्षण र संवर्द्धनमा प्रदेश सरकारले प्राथमिकता दिने बताए।
टोखाजस्ता ऐतिहासिक बस्तीका मूर्त तथा अमूर्त सम्पदा, जात्रा, पर्व, बाजागाजा, भजन तथा सांस्कृतिक परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न सकिने गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री प्रजापतिले जोड दिए।
यसै क्रममा टोखा नगरपालिका–३ स्थित प्रसिद्ध श्री पिगं द्यः इन्द्रायणी मन्दिर परिसरमा निर्माण भइरहेको मौलिक सतलपातिलाई समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको जनाइएको छ। सतलपाति निर्माणका लागि बागमती प्रदेश सरकारबाट विभिन्न चरणमा बजेट विनियोजन हुँदै आएको र हालसम्म ७५ लाख रुपैयाँ बजेट प्राथमिकतामा परेको श्री पिगं द्यः खलःका सचिव समीर डंगोलले जानकारी दिए।
मन्त्री प्रजापतिले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्दै स्थानीय मौलिकता कायम राखेर विकास निर्माण अघि बढाउनुपर्ने बताए।
स्थानीय समुदायको सक्रिय सहभागितामार्फत मौलिक संस्कृति र परम्पराको संरक्षण गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने धारणा मन्त्री प्रजापतिले व्यक्त गरे।