• TOKHA LIVE

      TOKHA LIVE

    • ८ भाद्र २०८३, सोमबार १४:२८

    रबिन्द्र मानन्धरको ‘मन्त्रपुरकी माया’ विमोचित, विभिन्न स्रष्टा तथा बालप्रतिभा सम्मानित

    काठमाडौं भदौ ८ । जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसरमा भदौ ७ गते आइतबार काठमाडौंमा कार्टुनिस्ट तथा बालसाहित्यकार रबिन्द्र मानन्धरद्वारा लिखित बाल उपन्यास ‘मन्त्रपुरकी माया’ विमोचन गरिएको छ।

    विगत तीन दशकदेखि कार्टुनिस्टका रूपमा परिचय बनाएका मानन्धरले लामो समयदेखि बालसाहित्यका लागि चित्र बनाउँदै आएका छन्। केही वर्षयता बालसाहित्य लेखनमा समेत सक्रिय उनले आफ्नै चित्र तथा कथामा आधारित केही चित्रकथा प्रकाशित गरिसकेका छन्। ‘मन्त्रपुरकी माया’ भने उनको पहिलो अध्याय पुस्तक अर्थात् बाल उपन्यास हो।

    नेपालको ग्रामीण परिवेशमा हुर्कँदै गरेकी विद्यार्थी पात्र मायाको जीवनमा अकस्मात् जादुयी पात्र हाकुको प्रवेश भएपछि कथा अघि बढ्छ। हाकुको प्रवेशसँगै आउने तनाव, रहस्य, रोमाञ्च, हास्य तथा भावुक क्षणलाई उपन्यासमा प्रस्तुत गरिएको छ। तीन सय वर्षअघि अस्तित्वमा आएको भनिएको हाकुले प्रयोग गर्ने नेवारी लवजका संवाद तथा गीत, माया र हाकुबीचको मित्रता, हाकुको रहस्य लुकाइराख्न मायाले गर्ने संघर्ष तथा मायाका साथी श्यामको चियो गर्ने बानी कथाका प्रमुख आकर्षण हुन्।

    उपन्यासमा कथाकार मानन्धर आफैंले सिलसिलेवार चित्रसमेत बनाएका छन्। १०२ पृष्ठको पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ।

    यसै अवसरमा नेवासास जयपृथ्वी सम्मानबाट प्रमोद प्रधान सम्मानित भएका छन्। त्यस्तै, नेवासास जयपृथ्वी बालप्रतिभा पुरस्कार अमृत विक र आयार्या नवालीलाई प्रदान गरिएको छ।

    कार्यक्रममा प्रभात सापकोटालाई नेवासास चूडा–चरण बालजीवनी पुरस्कार तथा प्रा. डा. चूडामणि बन्धुलाई नेवासास तेजप्रतिभा बाल नियात्रा/बाल लोकवार्ता पुरस्कार प्रदान गरिएको छ।

    त्यसैगरी तेजप्रकाश श्रेष्ठलाई नेवासास मुकेश–जनक विज्ञान बालसाहित्य पुरस्कार, डा. जयन्ती सापकोटालाई नेवासास बालसाहित्य अनुसन्धान पुरस्कार तथा अमेरिकामा रहेका आभास अयाललाई नेवासास विमला–मोहन प्रवासी बालमञ्च पुरस्कार प्रदान गरिएको पोस्टरमा उल्लेख छ।

    बालसाहित्य, बालप्रतिभा तथा नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा र प्रतिभालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै