काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
रिहा भएपछि मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ‘सत्य मरेको छैन, कलम हारेको छैन’ बताएका छन् ।
‘सत्य मरेको छैन, कलम हारेको छैन,’ उनले लेखेका छन्, ‘सबैलाई बधाई, सबैलाई शुभकामना !’
श्रेष्ठले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने र अन्ततः सत्यको जित हुने विश्वास व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘पन्छीको ठाउँ पिँजडा हैन, खुला आकाश नै प्रिय लाग्छ उसलाई । ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ ।’
सर्वोच्च अदालतको आदेशमा जनआस्थाले सार्वजनिक गरेको भनिएको जाहेरवालाको तस्बिर जाहेरवालाले नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको देखिएको उल्लेख छ । उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको पनि आदेशमा भनिएको छ ।
यस्तै, श्रेष्ठ जनआस्था पत्रिकाका प्रधान सम्पादक देखिए पनि विवादित तस्बिर प्रकाशित भएको जनआस्था अनलाइनको सम्पादकीय भूमिकामा उनी रहेको नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
वैयक्तिक गोपनीयता हननको अभियोगमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई बुधबार पक्राउ गरिएको थियो । उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
यसबीच जिल्ला अदालत काठमाडौंले सोमबार नै श्रेष्ठलाई दोस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले सोमबार नै उनलाई रिहा गरेको हो ।

