• TOKHA LIVE

      TOKHA LIVE

    • २ भाद्र २०८३, मंगलवार ११:३५

    जनकवि दुर्गालाल श्रेष्ठको आज राजकीय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौँ, २ भदौ । नेपाल भाषा तथा नेपाली साहित्यका शिखर व्यक्तित्व एवं जनकवि दुर्गालाल श्रेष्ठको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

    ९३ वर्षको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म डल्लुस्थित मंका खलःको भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। जनकवि श्रेष्ठ मंका खलः समूहका संरक्षकसमेत हुनुहुन्थ्यो।

    श्रद्धाञ्जलीपछि दिउँसो २ बजेबाट शवयात्रा सुरु हुनेछ। शवयात्रा डल्लुबाट शोभा भगवती पुल, धल्को, क्षेत्रपाटी, थँहिती, थायमरु, न्हायकन्तला, असन, जनबहाल, इन्द्रचोक, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी र जोगीपाखा भएर कर्णदीपस्थित विजयेश्वरी घाट पुग्नेछ।

    त्यहाँ श्रेष्ठको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताइएको छ।

    नेपाल भाषाको ‘राष्ट्रगान’ का रचयिता श्रेष्ठले पछिल्लो छ दशकदेखि साहित्यका माध्यमबाट समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका थिए। उनका चर्चित सिर्जनामध्ये ‘फूलको आँखामा फूलै संसार’ विश्वभर परिचित छ। उनका कविता, नाटक तथा बाल साहित्यका दर्जनौँ कृति प्रकाशित छन्।

    नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ उपाधि प्रदान गरेको थियो। उहाँ जगदम्बाश्रीलगायत प्रतिष्ठित पुरस्कारबाट समेत सम्मानित हुनुहुन्थ्यो।

    श्रेष्ठको निधनसँगै नेपाली तथा नेपाल भाषा साहित्यले एक अभिभावक, स्रष्टा र कर्मठ योद्धा गुमाएको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन्। उहाँको निधनप्रति देश–विदेशमा रहेका साहित्यप्रेमी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरिरहेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै