टाेखा,काठमाडौं भदौ १ । ऐतिहासिक नगरी टोखाको मौलिक संस्कृति, परम्परा र दाफाभजनलाई निरन्तरता दिने उद्देश्यले न्हुजः खलः (नयाँ किरण समूह), टोखाले चतुर्मास दाफाभजनमा सहभागी विभिन्न भजन खलःका सदस्य तथा गुठियारहरूलाई सामूहिक भोज (भ्वय्) आयोजना गरेको छ।
टोखामा धार्मिक पर्व, जात्रा तथा चाडपर्वका अवसरमा दाफाभजन गर्ने परम्परा पुस्तौंदेखि चल्दै आएको छ। विशेषगरी चतुर्मास अर्थात् चार महिनासम्म दाफाभजन गर्ने परम्परा र गुंला पर्वका बेला बिहान सबेरै परम्परागत बाजागाजासहित टोखा नगर परिक्रमा गर्दै भजन–कीर्तन गर्ने चलन छ। गुंला अवधिमा विभिन्न देवस्थलको परिक्रमा गरी राति चतुर्मास दाफाभजन गर्ने परम्परा पनि टोखामा अझै जीवित छ।
यसै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै न्हुजः खलःले श्री इन्द्रायणी दापा खलः, श्री पिगं द्यः दापा खलः सहलुबी, श्री सपनतीर्थ दापा खलः यलाग, श्री जोरभिमसेन दापा खलः, श्री चण्डेश्वरी दापा खलः तथा चण्डेश्वरी भजन खलःका निरन्तर भजन टोली, गुरु, गायक, बादक तथा गुठियारहरूलाई परम्परागत नेवारी शैलीको समयबजी तथा भोज खुवाएर सम्मान गरेको हो।
न्हुजः खलःले विगत चार वर्षदेखि एकै दिनमा विभिन्न छ वटा भजन दापा खलःलाई सामूहिक रूपमा भोज खुवाउँदै आएको जनाएको छ। संस्थाका अनुसार यो भोज केवल आतिथ्य सत्कारमा सीमित नभई टोखाको मौलिक दाफाभजन संस्कृति संरक्षण, पुस्तान्तरण र सांस्कृतिक एकताको निरन्तरताको प्रतीक हो।
चतुर्मास तथा गुंला पर्वका समयमा भजनमा सहभागी कलाकार र स्थानीय बासिन्दाको उत्साह बढाउनुका साथै विभिन्न भजन खलःबीच आपसी सद्भाव, सहकार्य र भाइचारा अभिवृद्धि गर्न पनि यस्तो सामूहिक भोजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
टोखाको सांस्कृतिक जीवनमा दाफाभजन धार्मिक अभ्यास मात्र नभई समुदायलाई जोड्ने सांस्कृतिक सेतुका रूपमा समेत स्थापित छ। बिहान सबेरै गुञ्जिने परम्परागत बाजाका धुन र भजनका स्वरले टोखाको पुरानो सांस्कृतिक पहिचानलाई आज पनि जीवन्त बनाइरहेका छन्।
मौलिक संस्कृति र परम्परा संरक्षणका लागि स्थानीय संघसंस्था, गुठी तथा नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको स्थानीयको भनाइ छ। न्हुजः खलःको यस्तो सामूहिक भोजले पुरानो सांस्कृतिक परम्परालाई सम्मान गर्दै नयाँ पुस्तासम्म पुर्याउने सकारात्मक प्रयासको सन्देश दिएको छ।


