• TOKHA LIVE

      TOKHA LIVE

    • १ भाद्र २०८३, सोमबार २१:५९

    न्हुजः खलःनयाँ किरण समूहको वार्षिकोत्सवमा रक्तदान र ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नयाँ किरण समूह (न्हुजः खलः) तथा न्हुजः पुस्तकालय, टोखा नगरपालिका वडा २ को आयोजनामा ४३ औं  वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

    वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७५ जना रक्तदाताले रक्तदान गरेका छन्। कार्यक्रममा नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग रहेको थियो।

    न्हुजः खलःका अध्यक्ष विकास डंगोलले रक्तदान केवल रगत दिने कार्य मात्र नभई संकटमा परेका अपरिचितको जीवन बचाउने मानवीय सेवा भएको बताए। उहाँले कार्यक्रममा सहभागी भएर जीवन बचाउने पुण्य कार्यमा जोडिनु भएका सम्पुर्ण रक्तदाताहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गरे।

    केही थोपा रगत कसैका लागि जीवनको आशा बन्न सक्छ,” भन्ने मानवीय भावनासहित आयोजना गरिएको रक्तदान कार्यक्रमले वार्षिकोत्सवलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।

    त्यस्तै, ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता बढाउने उद्देश्यले टोखा–२ स्थित क्वाखल, तलेजु परिसरमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ। सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

    उमेरसँगै देखिन सक्ने स्वास्थ्य समस्या समयमै पहिचान गर्न र स्वास्थ्यप्रति सचेतना बढाउन शिविर उपयोगी बनेको आयोजकको भनाइ छ। शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत पाएका थिए।

    ज्येष्ठ नागरिकको जीवनमा स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो। उनीहरूको स्वास्थ्य र सहज जीवनप्रति समुदायले देखाएको यो सानो संवेदनशीलताले ज्येष्ठ नागरिकको मुहारमा मुस्कानसँगै ‘हामीप्रति पनि कसैले सोचिरहेको छ’ भन्ने अपनत्वको अनुभूति दिलाएको आयोजकले जनाएको छ।

    सामाजिक सेवा, मानवीय सहयोग र समुदायसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै नयाँ किरण समूहले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै