काठमाडौं । बालबालिकाको लेखाइमा रहेको सिर्जनशीलता, सौन्दर्य तथा प्रतिभालाई उजागर गर्ने उद्देश्यले काठमाडौंको टोखामा अन्तरविद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता आयोजना हुने भएको छ।
ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको आयोजनामा आगामी भदौ ६ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता टोखास्थित साउथवेस्टर्न स्टेट कलेजमा सञ्चालन हुने आयोजकले जनाएको छ।
‘राम्रो हस्तलेखन, उज्यालो भविष्य’ भन्ने भावसहित आयोजना हुन लागेको प्रतियोगिताले विद्यार्थीको लेखन सीप विकाससँगै आफ्ना विचारलाई स्पष्ट, व्यवस्थित र आकर्षक ढंगले प्रस्तुत गर्ने क्षमताको विकासमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ।
आयोजकका अनुसार हस्तलेखन केवल अक्षर लेख्ने कला मात्र नभई विद्यार्थीको अनुशासन, धैर्य, एकाग्रता, सिर्जनशीलता र व्यक्तित्वसमेत प्रतिबिम्बित गर्ने माध्यम हो। पछिल्लो समय डिजिटल प्रविधिको प्रयोग बढ्दै गए पनि सुन्दर तथा व्यवस्थित हस्तलेखनको महत्व कायम रहेकाले बालबालिकालाई आफ्नो लेखन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउनेछन्। सहभागी विद्यार्थीले तोकिएको विषय तथा मापदण्डअनुसार आफ्नो हस्तलेखन प्रतिभा प्रस्तुत गर्नेछन्। लेखाइको सौन्दर्य, स्पष्टता, अक्षरको बनोट, सफाइ, अनुशासन तथा प्रस्तुतिकरणजस्ता पक्षलाई मूल्याङ्कनको आधार बनाइने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै उनीहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।
ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरले प्रतियोगितामा विद्यार्थीको सहभागितालाई प्रभावकारी बनाउन सम्बन्धित विद्यालय, शिक्षक तथा अभिभावकलाई आवश्यक सहयोग र प्रोत्साहन गर्न आग्रह गरेको छ। बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई थप सिर्जनशील गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

