• TOKHA LIVE

      TOKHA LIVE

    • १ भाद्र २०८३, सोमबार १२:५५

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    काठमाडौं । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९३ वर्षको उमेरमा आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा फिल्म समीक्षक प्रकाश सायमीले जानकारी दिएका छन्।

    केही समयदेखि अस्वस्थ रहेका श्रेष्ठ पछिल्ला दिनसम्म पनि साहित्य सिर्जनामा सक्रिय थिए। उनले छ दशकभन्दा लामो समयदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए। नेपालीसँगै नेपाल भाषामा कविता, गीत तथा अन्य साहित्यिक विधामा उनको महत्वपूर्ण योगदान रहेको छ।

    नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो। नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्। नेपाली र नेपाल भाषाको साहित्य तथा गीत–संगीत क्षेत्रमा उनले पुर्‍याएको योगदानका कारण श्रेष्ठ नेपाली साहित्यका विशिष्ट स्रष्टाका रूपमा परिचित थिए।

    श्रेष्ठको जन्म सन् १९३५ अर्थात् विसं १९९२ मा काठमाडौंमा एक निम्नमध्यमवर्गीय नेवार परिवारमा भएको थियो। उनले पद्मोदय माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा पूरा गरेका थिए।

    उनले सन् १९४९ देखि साहित्य लेखन सुरु गरेका थिए। उनको पहिलो कविता ‘टु ड्रप्स’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो। त्यसपछि उनले कविता, गीतलगायत विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएका थिए।

    दुर्गालाल श्रेष्ठले साहित्य तथा सिर्जनाका क्षेत्रमा पुर्‍याएको योगदानका लागि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए। उनलाई नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कार, जेएए उत्कृष्ट नाटककार पदक (१९९१), हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार (२००६) लगायतका सम्मान प्रदान गरिएको थियो।

    उनी सन् १९९५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यसमेत नियुक्त भएका थिए। साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत उनले सन् २०१० मा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए।

    दुर्गालाल श्रेष्ठका चर्चित सिर्जनामध्ये ‘फूलको आँखामा फूलै संसार’ विशेष लोकप्रिय छ। गायिका आनी छोइङ डोल्माको स्वरमा चर्चित बनेको यो गीत श्रेष्ठकै रचना हो।

    सरल शब्दमा गहिरो मानवीय भावना, सकारात्मक सोच र जीवनदर्शन प्रस्तुत गर्ने उनका गीत तथा कविताले नेपाली साहित्य र संगीतमा छुट्टै पहिचान बनाएका छन्।

    भोलि अन्तिम श्रद्धाञ्जली

    परिवारका केही सदस्य विदेशबाट आउनुपर्ने भएकाले श्रेष्ठको पार्थिव शरीरलाई भोलि मंगलबार मात्र सार्वजनिक स्थानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने साहित्यकार प्रकाश सायमीले बताएका छन्।

    अन्तिम श्रद्धाञ्जलीपछि श्रेष्ठको अन्तिम संस्कार गरिने जनाइएको छ। उनको निधनसँगै नेपाली साहित्य तथा गीत–संगीत क्षेत्रले लामो समयदेखि निरन्तर सिर्जनामा सक्रिय एक महत्वपूर्ण स्रष्टा गुमाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै