• TOKHA LIVE

      TOKHA LIVE

    • २९ श्रावण २०८३, शुक्रबार १४:३२

    सामाखुसी–टोखा–झोर सडकलाई ‘सांस्कृतिक पथ’का रूपमा विकास गर्न ध्यानाकर्षण

    काठमाडौं । सामाखुसी–टोखा–झोर सडकको मौलिक चरित्र मूलतः ‘सांस्कृतिक पथ’ रहेको भन्दै यसको संरक्षण र विकासका लागि सम्बन्धित मन्त्री तथा संसदीय समितिका सभापतिको ध्यानाकर्षण गराइएको छ।

    टोखाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको उक्त सडकलाई केवल यातायात सञ्चालन गर्ने पूर्वाधारका रूपमा मात्र नभई यहाँका मौलिक सम्पदा, जात्रा, पर्व, कला तथा संस्कृतिसँग जोडेर विकास गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको हो।

    उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, खेलकुद तथा शिक्षामन्त्री सस्मित पोखरेल तथा खेलकुद, स्वास्थ्य, शिक्षा एवम् सूचना संसदीय समितिका सभापति डा. ओजस्वी शेरचनलाई ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ।

    ध्यानाकर्षण पत्रमार्फत सामाखुसी–टोखा–झोर सडकलाई विकास गर्ने क्रममा टोखाको मौलिक सभ्यता, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक पहिचानलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ। सडक विस्तार तथा पूर्वाधार निर्माणका क्रममा स्थानीय सम्पदा, धार्मिक स्थल तथा परम्परागत सांस्कृतिक मार्गमा प्रतिकूल असर नपर्ने गरी योजना बनाउनुपर्नेमा जोड दिइएको छ।

    टोखाको ऐतिहासिक बस्ती, मन्दिर, पाटी–पौवा, जात्रा तथा विभिन्न सांस्कृतिक गतिविधिलाई सडक पूर्वाधारसँग जोड्न सके सामाखुसी–टोखा–झोर क्षेत्रलाई महत्वपूर्ण सांस्कृतिक तथा पर्यटकीय मार्गका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

    स्थानीय संस्कृति तथा सम्पदा संरक्षणमा समुदायको सहभागितालाई समेत प्राथमिकता दिनुपर्ने माग गरिएको छ। सडक निर्माण र विस्तारसँगै टोखाको मौलिक सांस्कृतिक पहिचान संरक्षण गर्न सके यसले पूर्वाधार विकाससँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    टोखाको सभ्यता, संस्कृति र सम्पदालाई केन्द्रमा राखेर सामाखुसी–टोखा–झोर सडकलाई ‘सांस्कृतिक पथ’का रूपमा विकास गर्नुपर्ने मागसहित गरिएको यो पहलले सडक विकासलाई सम्पदा संरक्षणसँग जोड्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै