काठमाडौं । काठमाडौंको टोखा–५, बसुन्धरास्थित शिव मन्दिर परिसरमा रहेको श्री कल्कीनारायण मन्दिर धार्मिक आस्था, स्थानीय विश्वास र सांस्कृतिक पहिचानको केन्द्रका रूपमा विकास हुँदै गएको छ। कल्की भगवानप्रति आस्था राख्ने भक्तजनका लागि यो मन्दिर पछिल्लो समय महत्वपूर्ण धार्मिक गन्तव्य बन्दै गएको छ।
मन्दिरको स्थापनाको कथा धार्मिक विश्वास र भविष्यवाणीसँग जोडिएको छ। काठमाडौंमा चर्चित बेत्रावती गोमा माताले ध्यानका क्रममा ‘कल्कीनारायण मन्दिर निर्माण गरे देशमा सहजता आउँछ’ भन्ने भविष्यवाणी गरेको स्थानीय धार्मिक अभियन्ताहरू बताउँछन्। सोही संकल्पअनुसार २०५९ सालमा त्रिशूल गाडेर मन्दिरको शिलान्यास गरिएको थियो। त्यसपछि २०६२ सालमा विधिवत् प्राणप्रतिष्ठासहित मन्दिर स्थापना गरिएको बताइएको छ।
विष्णुको दशौँ अवतार मानिने कल्की
हिन्दू धार्मिक मान्यताअनुसार कल्की भगवान विष्णुको दशौँ अवतार हुन्। कलियुगमा अधर्म र अन्याय चरममा पुगेपछि त्यसको अन्त्य गर्न कल्की अवतार प्रकट हुने धार्मिक विश्वास छ।
यही धार्मिक आस्थाका कारण कल्कीनारायण मन्दिरमा विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्। मन्दिरमा पूजा तथा दर्शन गर्दा पापबाट मुक्ति मिल्ने र ध्यान गर्दा मनमा शान्ति प्राप्त हुने जनविश्वास रहेको छ।
चार वर्ष मूर्तिविहीन, फेरि भयो पुनःस्थापना
मन्दिरको इतिहासमा मूर्ति चोरीको घटना पनि जोडिएको छ। मन्दिरमा रहेको मूर्ति चोरी भएपछि करिब चार वर्षसम्म मन्दिर मूर्तिविहीन अवस्थामा रहेको बताइएको छ।
पछि २०७९ साल श्रावण षष्ठी अर्थात् नागपञ्चमीको भोलिपल्ट परेको कल्की जयन्तीका दिन मन्दिरमा मूर्तिको पुनःस्थापना गरिएको थियो।
हाल बसुन्धरा विकास तथा सुधार समाजले मन्दिर तथा परिसरको संरक्षण गर्दै आएको छ। मुख्य पुजारीमार्फत दैनिक पूजापाठ सञ्चालन हुँदै आएको छ। परिसरमा रहेको होमकुण्डमा प्रत्येक महिनाको १ गते हवन तथा भजनकीर्तन गर्ने परम्परासमेत रहेको बताइएको छ।
कल्की जयन्तीमा शोभायात्रा
कल्की जयन्तीका अवसरमा मन्दिरबाट शोभायात्रा निकाल्ने परम्परा पनि विकास हुँदै गएको छ। भक्तजनको सहभागितामा हुने शोभायात्राले मन्दिरको धार्मिक महत्वलाई थप उजागर गर्ने गरेको स्थानीयको भनाइ छ।
मन्दिरको प्राणप्रतिष्ठाका क्रममा जगतगुरुले प्रत्येक कल्की जयन्तीमा नेपाल आएर पूजापाठ गर्ने तथा भक्तजनको सहभागितामा शोभायात्रा निकाल्ने प्रतिबद्धता व्यक्त गरेको आयोजक पक्षले जनाएको छ।
भारतसँग जोडिएको धार्मिक आस्था
कल्की भगवानप्रतिको धार्मिक आस्था नेपालमा मात्र सीमित छैन। भारतको सम्बलपुरमा १८औँ शताब्दीतिर निर्माण भएको श्री कल्कीनारायण मन्दिरलाई समेत कलियुगको अन्त्य र कल्की अवतारसँग जोडेर हेर्ने धार्मिक मान्यता रहेको बताइन्छ।
यही धार्मिक परम्परा र आस्थासँग जोड्दै टोखाको बसुन्धरा चोक नजिक कल्कीनारायण मन्दिर स्थापना गरिएको स्थानीयको भनाइ छ।
धार्मिक पर्यटनको सम्भावना
धार्मिक आस्था, स्थानीय इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको यो मन्दिर टोखाको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ। मन्दिर परिसरलाई थप व्यवस्थित बनाउँदै यसको इतिहास, धार्मिक महत्व र सांस्कृतिक पक्षको प्रचारप्रसार गर्न सके भक्तजनसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ।
धार्मिक विश्वास र स्थानीय पहिचानसँग जोडिएको श्री कल्कीनारायण मन्दिर टोखाको उदीयमान धार्मिक गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ। यसको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारले टोखाको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई थप उचाइ दिन सक्ने देखिन्छ।

