काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नुको कारणसहित बरामद गरिएका विद्युतीय सामग्री लिएर सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठविरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई पक्राउ गर्नुको कारण खुलाउन र पक्राउका क्रममा बरामद गरिएका सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनका पति गैरकानुनी रूपमा पक्राउ परेको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले उनको निवास तथा जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको जनाएको छ। सर्वोच्चको आदेशपछि अब ती बरामद सामग्रीसमेत अदालतमा प्रस्तुत गर्नुपर्ने भएको छ।
श्रेष्ठमाथि अनुसन्धान गर्न जिल्ला अदालतले बिहीबार तीन दिनको म्याद दिएको थियो। उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्।
श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष हुन्। उनी यसअघि प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसमेत भइसकेका छन्।
सर्वोच्चको सोमबारको उपस्थितिपछि श्रेष्ठको पक्राउको कानुनी आधार, बरामद सामग्री तथा उनीमाथि भइरहेको अनुसन्धानका विषयमा थप प्रक्रिया अघि बढ्नेछ।

