काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ ले एक वर्षमा करिब ७ सयभन्दा बढी व्यक्तिलाई विभिन्न विधामा सीपमूलक तालिम प्रदान गरेको छ। गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हस्पिटालिटी, सेनिटरी प्याड उत्पादन, बेकरी, बारिस्टा, मोबाइल जर्नालिज्म, टुर अपरेटर र उद्घोषणलगायतका क्षेत्रमा तालिम सञ्चालन गरिएको वडाले जनाएको छ।
तालिमअन्तर्गत १५० जना प्रशिक्षार्थीलाई एकैपटक प्रमाणपत्र वितरण गरिएको छ। प्रमाणपत्र वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमलाई रोजगारी र स्वरोजगारीसँग जोड्नुपर्ने बताइन्।
डंगोलले एउटै व्यक्तिले धेरै विषयको सामान्य ज्ञान लिनुभन्दा रुचि भएको एउटै क्षेत्रमा दक्ष बन्ने गरी तालिम लिनुपर्नेमा जोड दिइन्। उनका अनुसार यसबाट मात्रै दिगो रूपमा आयआर्जन गर्न सकिन्छ।
‘हामीले दिएको सीपमूलक तालिमपछि प्रशिक्षार्थी रोजगार वा स्वरोजगार भएको हेर्न चाहन्छौँ,’ डंगोलले भनिन्।
वडा अध्यक्ष योगेशकुमार खड्गीका अनुसार वडाले परम्परागत सीपदेखि आधुनिक तथा प्रविधिमा आधारित विषयसम्म तालिम सञ्चालन गरेको छ। उनले एक वर्षमा करिब एक दर्जन विधामा ७ सयभन्दा बढीलाई तालिम दिइएको जानकारी दिए।
खड्गीका अनुसार माटोबाट मखुण्डो बनाउने तालिम लिएका केही प्रशिक्षार्थीले आफ्नै व्यवसाय सुरु गरिसकेका छन् भने बारिस्टा तालिम लिएका केही प्रशिक्षार्थी प्रशिक्षकसमेत बनिसकेका छन्।
वडाले धिमे नृत्य, जुम्बा, पौडी तथा बालबालिकाका लागि फुटबल स्तरोन्नति तालिम पनि सञ्चालन गरिसकेको जनाएको छ। अब कम्प्युटर तथा प्रविधिमा आधारित तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ।
वडाले सीप विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै तालिमपछि प्रशिक्षार्थीलाई रोजगारी तथा स्वरोजगारीमा जोड्ने लक्ष्य लिएको जनाएको छ।

