• TOKHA LIVE

      TOKHA LIVE

    • २५ श्रावण २०८३, सोमबार २१:४४

    टोखामा गथामुगः चह्रे पर्व, संस्कृति र सामुदायिक एकताको सन्देश

    टोखा काठमाडौं श्रावण २५। नेवार समुदायको मौलिक तथा परम्परागत पर्व गथामुगः (घन्टाकर्ण) चह्रे टोखामा हर्षोल्लासका साथ मनाइँदैछ। वर्षायामको खेतीपातीको काम सकिएपछि आउने पहिलो पर्वका रूपमा लिइने गथामुगः चह्रेले टोखाको प्राचीन सभ्यता, संस्कृति र सामुदायिक एकताको जीवन्त परिचय दिने गर्दछ।
    श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा स्थानीयवासीले नर्कट, पराल तथा हाँगाबिँगा प्रयोग गरी घन्टाकर्ण राक्षसको प्रतीकात्मक पुत्ला निर्माण गर्छन्। साँझपख उक्त पुत्लालाई चौबाटोमा लगेर दहन गर्दै अशुभ र नकारात्मक शक्तिको अन्त्यको कामना गरिन्छ।
    गथामुगःसँग विभिन्न सांस्कृतिक तथा धार्मिक विश्वास पनि जोडिएका छन्। घरमा फलामको किला वा ओखली ठोक्ने, मन्त्रोच्चारणसहित विशेष पूजा सामग्री ‘बौः’ चौबाटोमा सेलाउने तथा फलाम, तामा वा पित्तलको औँठी लगाउने परम्परा रहेको छ। यस्ता कार्यले भूतप्रेत, रोगव्याधि तथा नकारात्मक शक्तिबाट घरपरिवार सुरक्षित रहने जनविश्वास छ।


    कृषि कार्य सम्पन्न भएपछि घर, आँगन र टोल सफा गर्ने परम्परासँग पनि यो पर्व जोडिएको छ। त्यसैले गथामुगः चह्रे केवल एउटा धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई सरसफाइ, सामाजिक सहकार्य र सामुदायिक एकताको सुरुवातका रूपमा समेत लिइन्छ।

    टोखाको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा पर्वलाई सांस्कृतिक अभियानसँग जोडेर मनाउनुपर्ने आवाज पनि उठेको छ। यसै क्रममा साउन २६ गते अपराह्न ३ बजे संस्कृति प्रेमी टोखावासीलाई गणेशस्थानबाट बिसिङ्गा–थुसातर्फ घन्टाकर्ण विसर्जन यात्रामा सहभागी हुन आह्वान गरिएको छ।
    परम्परागत सांस्कृतिक मार्ग हुँदै गरिने उक्त यात्रालाई भव्यसँगै सभ्य, शान्तिपूर्ण र अनुशासित बनाउन आयोजक तथा स्थानीयवासीले आग्रह गरेका छन्। पुस्तौँदेखि चलिआएको मौलिक परम्परा, कला, संस्कृति र सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने अवसरका रूपमा पनि यस यात्रालाई लिइएको छ।
    टोखाको प्राग–ऐतिहासिक सभ्यता र संस्कृति बोकेको गथामुगः चह्रे यहाँको गौरव र पहिचानसँग जोडिएको पर्व हो। पछिल्लो समय मौलिक सम्पदा र सांस्कृतिक क्षेत्रमाथि भइरहेको अतिक्रमणप्रति चिन्ता व्यक्त गर्दै संस्कृति संरक्षणका लागि सामूहिक एकता आवश्यक रहेको स्थानीय संस्कृतिप्रेमीहरूको भनाइ छ।
    “झिगु संस्कृति, झिगु तजिलजि ” भन्ने भावनाका साथ मनाइने गथामुगः चह्रेले टोखावासीलाई आफ्नो मौलिक पहिचानप्रति अझ सचेत र एकताबद्ध बनाउने विश्वास गरिएको छ। परम्परा केवल विगतको सम्झना होइन, भावी पुस्तालाई हस्तान्तरण गर्ने साझा जिम्मेवारी पनि हो।
    त्यसैले गथामुगः चह्रेमा संस्कृति, सम्पदा र एकताको भाव बोकेर सहभागी हुँदै टोखाको मौलिक पहिचानलाई जीवन्त राख्ने अभियानमा सबैलाई जोडिन आह्वान गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै