काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन जारी गर्नेलगायतका माग पूरा नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।
महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले साउन १६ र १७ गते काठमाडौंमा गरेको निर्णय शुक्रबार सार्वजनिक गर्दै आन्दोलनको तयारी अघि बढाउने जनाएको हो। आन्दोलनको मिति, स्वरूप र कार्यक्रम तय गर्ने जिम्मेवारी विस्तारित कार्यालयीय बैठकलाई दिइएको महासंघले जनाएको छ।
महासंघले सरकार र शिक्षक महासंघबीच भएका सहमतिअनुसार विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकार र संघीय संसद्सँग माग गरेको छ।
परिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता तथा महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि जनाएको छ। उनीहरूलाई पनि समान सुविधा उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले २०८२ वैशाख १७ गते गरेको स्थानीय (दुर्गम) भत्ता सम्बन्धी निर्णय कार्यान्वयन नभएको भन्दै सम्बन्धित क्षेत्रका सबै शिक्षकलाई निजामती कर्मचारीसरह भत्ता उपलब्ध गराउन माग गरिएको छ।
महासंघले राहत, साविक उमावि, अस्थायी करार, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकहरूको पेसागत सुरक्षा, स्थायित्व र सेवा–सुविधाको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ।
परिषद्ले प्रारम्भिक बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकका लागि दरबन्दी सिर्जना गरी तलब–भत्ताको व्यवस्था गर्नुपर्ने, शिक्षक–कर्मचारीसँग सम्बन्धित मन्त्रिपरिषद्को ९ बुँदे निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ।
त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति र दिवा खाजा रकम वृद्धि गर्न, विद्यालयको पानी र विद्युत् महसुल छुट गर्न तथा शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
महासंघले संविधानअनुसार आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग राखेको छ।
विद्यालय तहका शिक्षक–कर्मचारीको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघलाई थप सुदृढ र स्वायत्त बनाउने कानुनी व्यवस्था गर्न तथा शिक्षकहरूको ट्रेड युनियन अधिकारको सम्मान गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
महासंघले यसअघि २०८१/८२ मा भएको ८९ दिने आन्दोलन र २९ दिने काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनमा सहभागी शिक्षक–कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते भएका तथा रिले अनशनमा बसेका शिक्षकहरूको योगदानको प्रशंसा गरेको छ।
यसैबीच परिषद्ले सुनसरीको कप्तानगञ्जबाट सुरु भई मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गर्दै शान्ति बहाली, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेको छ।
परिषद्ले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित सबै पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

