नविना श्रेष्ठ
साउन २०, २०८३
धम्माकाया फाउन्डेसन थाइल्याण्ड र युनिभर्सल गुड्नेस अर्गनाइजेसन (विश्वव्यापी भलाई केन्द्र) नेपालबीच औपचारिक सहकार्य स्थापना भएको छ।
नेपालमा नैतिक शिक्षा, चरित्र विकास तथा युनिभर्सल गुड्नेस ५ (UG5) अभियानलाई प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले दुवै संस्थाबीच औपचारिक सम्बन्ध स्थापना गरिएको हो।
UG5 नेपालका अध्यक्ष राकेश महर्जनको पहलमा धम्माकाया फाउन्डेसनको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उपनिर्देशक श्रद्धेय भिक्षु आसाना किज विमोलसमक्ष प्रस्तुत औपचारिक प्रस्ताव स्वीकृत भएपछि दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार भएको जनाइएको छ।
धम्माकाया फाउन्डेसनको सहयोग र सहकार्यमा नेपालमा विगत एक दशकदेखि युनिभर्सल गुड्नेस ५ (UG5) अन्तर्गत नैतिक शिक्षा, अनुशासन, सकारात्मक जीवनशैली तथा चरित्र निर्माणसँग सम्बन्धित विभिन्न तालिम, कार्यशाला र जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यसै वर्ष युनिभर्सल गुड्नेस अर्गनाइजेसन अर्थात् विश्वव्यापी भलाई केन्द्र नेपाल औपचारिक रूपमा दर्ता भएपछि दुई संस्थाबीचको सहकार्यलाई संस्थागत रूप प्रदान गरिएको हो।
सम्झौताअनुसार दुवै संस्थाले UG5 अवधारणाको प्रचार–प्रसार गर्ने, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था र स्थानीय तहसँग समन्वय तथा सहकार्य विस्तार गर्ने, परामर्श सेवा उपलब्ध गराउने तथा UG5 नेपालको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग गर्ने लक्ष्य राखेका छन्।
त्यसैगरी समुदाय, स्थानीय सरकार तथा सरोकारवालासँगको साझेदारीमा UG5 प्रशिक्षण केन्द्र तथा आवश्यक पूर्वाधारको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने तथा दुवै संस्थाबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदानका लागि नियमित भ्रमण तथा प्रतिनिधिमण्डल आदानप्रदान गर्ने सहमति भएको छ।
दुवै संस्थाबीच भएको यस औपचारिक सहकार्यले नेपालमा नैतिक शिक्षा, चरित्र विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। यसबाट विद्यालय, समुदाय तथा स्थानीय तहमा युनिभर्सल गुड्नेस ५ (UG5) अभियानलाई थप प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




