काठमाडौं, साउन २० / एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा हुने जेसीएल (जुनियर क्रिकेट लिग) इन्टर स्कुल इन्डोर टुर्नामेन्ट मनसुन च्याप्टर सिजन–२ साउन २४ गतेदेखि एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा सञ्चालन हुने भएको छ।,
प्रतियोगिताको तयारीस्वरूप मंगलबार आयोजित प्रेस मिट, ट्रफी सार्वजनिक तथा टाइ सिट ड्र कार्यक्रममा प्रतियोगिताको समूह विभाजनसमेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता काठमाडौं गोर्खाजको सहयोग तथा एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापनमा आयोजना हुन लागेको हो।
यस संस्करणमा काठमाडौं उपत्यकाका २४ विद्यालयको सहभागिता रहनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा चार–चार टोली रहेका छन्।
समूह ‘ए’ मा डीएभी रेड, पुष्प सदन, नवोदित र आरम्भा रहेका छन्। समूह ‘बी’ मा एन्जल्स नेसनल, त्रिलोक, केएमसी स्कुल र क्रियटिभ एकेडेमी छन्। समूह ‘सी’ मा मनसिंह, चेल्सी डब्लुआइबी, एसिया प्यासिफिक र नेरिक एकेडेमी परेका छन्।
त्यस्तै, समूह ‘डी’ मा डीएभी ब्लु, गम्भीर स्कुल, स्कलर्स होम र मनमैजु छन् भने समूह ‘ई’ मा एन्जल्स हार्ट, प्यारामाउन्ट, सत्य साई र हिमालयन ह्वाइट हाउस रहेका छन्। समूह ‘एफ’ मा सेलिब्रेसन, भ्याली पब्लिक एकेडेमी, ज्ञानोदय बालबाटिका र जेम्स स्कुल परेका छन्।
प्रेस मिट कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी, साझेदार संस्था तथा खेलकुद क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा क्रिकेट प्रतिभाको विकास गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा र खेलभावनाको प्रवर्द्धन गर्नु हो। आयोजकले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै साझेदार, सञ्चारमाध्यम, विद्यालय तथा समर्थकप्रति आभार व्यक्त गर्दै सहभागी सबै टोलीलाई सफल प्रतियोगिताको शुभकामना दिएको छ।
२४ विद्यालयबीच हुने प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले जेसीएल इन्टर स्कुल इन्डोर टुर्नामेन्ट, मनसुन च्याप्टर सिजन २ को उपाधि जित्नेछ।


