• TOKHA LIVE

      TOKHA LIVE

    • २० श्रावण २०८३, बुधबार ११:०३

    सरकार–बैंक सहकार्यबाट आर्थिक वृद्धि सम्भव : अर्थमन्त्री स्वर्णिम वाग्ले

    काठमाडौं, साउन २०/ अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरी आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्। नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा उनले सरकार र बैंकहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिए।

    अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको उल्लेख गर्दै त्यसका लागि लगानी विस्तार, रोजगारी सिर्जना र कर्जा प्रवाह बढाउन आवश्यक रहेको बताए। बैंकहरूले कर्जा विस्तारमा भोगिरहेका नीतिगत तथा व्यावहारिक समस्या खुलेर राख्न आग्रह गर्दै सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    छलफलमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने धारणा पूर्ण रूपमा सही नभएको बताएका थिए। उनीहरूका अनुसार बैंकिङ क्षेत्रमा केही नीतिगत चुनौती रहे पनि ती समाधान गर्न सकिने प्रकृतिका छन्।

    बैंकरहरूले जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण बढिरहेको र अन्य क्षेत्रमा पनि क्रमशः कर्जाको माग बढ्ने संकेत देखिएको जानकारी दिए। साथै, राष्ट्र बैंक र सरकारले केही नीतिगत सहजीकरण गरे अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे।

    नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढ्दो लगानीलाई थप प्रोत्साहन गर्नुपर्ने बताए। उनले ठूला परियोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको विश्वास कायम राख्न सरकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले व्यवसायीको आत्मविश्वास बढाउन र बैंकहरूको कर्जा प्रवाह क्षमता विस्तार गर्न नीतिगत सहजीकरण आवश्यक रहेको बताए। एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ग्रामीण तथा विपन्न वर्गसम्म कर्जा विस्तार गर्नुपर्नेमा जोड दिँदै पुँजीगत खर्च बढाउन सरकारलाई आग्रह गरे।

    हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नयाँ आर्थिक वर्षमा उद्योगी–व्यवसायीहरू लगानी विस्तारका लागि उत्साहित रहेको बताएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै