नविना श्रेष्ठ
काठमाडौं, साउन १९ । दक्षिण कोरियाबाट सुरु भएको नाङ्गो खुट्टा हिँडाइ आन्दोलन नेपालमा पनि स्वास्थ्य र प्रकृतिसँगको सम्बन्धलाई जोड्ने नयाँ अभियानका रूपमा विस्तार हुँदै गएको छ। नाङ्गो खुट्टा हिँडाइ राष्ट्रिय आन्दोलन नेपाल शाखाले काठमाडौंको रानीबारी सामुदायिक वनमा आयोजना गरेको नाङ्गो खुट्टा अनुभव कार्यक्रममा करिब १५० जना सहभागी भएका छन्।
२० देखि ४० वर्ष उमेर समूहका स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले वनको प्राकृतिक पदमार्गमा नाङ्गो खुट्टाले हिँड्दै प्रकृतिसँगको निकटता र यसको स्वास्थ्य लाभ प्रत्यक्ष अनुभव गरेका थिए। आयोजकका अनुसार यो अभियानले प्रकृतिसँगको सामीप्यमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा कोरिया र नेपालका सहभागीहरूले एकसाथ माटो टेक्दै प्रकृति र मानिसबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अनुभव साटासाट गरेका थिए। विशेषगरी कोरियाप्रति चासो र सद्भाव राख्ने युवा पुस्ताको सक्रिय उपस्थितिले अभियानप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।
नेपाल शाखाका अध्यक्ष राकेश महर्जन, उपाध्यक्ष सबिता खनाल र महासचिव सुनिता सेडाई लगायतको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, प्रशासनिक अधिकारी, प्रहरी, व्यवसायी तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।
खानियाबास गाउँपालिकाका अध्यक्ष राणबहादुर तामाङ र नीलकण्ठ नगरपालिकाका प्रशासकीय प्रमुख हरिदत्त काँडेल लगायतको उपस्थितिले सरकारी तथा निजी क्षेत्रबीच सहकार्यको आधार बलियो बन्ने विश्वास व्यक्त गरिएको छ।
आयोजकका अनुसार गत जुलाई महिनामा नेपालमा अभियानको औपचारिक सुरुवात भएपछि आयोजित यो अनुभव कार्यक्रमले नेपालभर अभियान विस्तार गर्ने तथा भविष्यमा भारतसहित छिमेकी मुलुकसम्म यसको पहुँच पुर्याउने आधार तयार गरेको छ।
नेपाल शाखाले आगामी दिनमा नियमित अनुभवमूलक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्थानीय सरकारसँग सहकार्य विस्तार गर्ने योजना रहेको जनाएको छ। आयोजकका अनुसार नाङ्गो खुट्टा हिँडाइ केवल स्वास्थ्य अभ्यास मात्र नभई प्रकृति, मानिस र संस्कृतिलाई जोड्ने विश्वव्यापी स्वास्थ्य संस्कृतिका रूपमा विकास गर्न सकिने विश्वास लिइएको छ।


