काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि आफूलाई समर्थन गर्न वा तत्काल बहुमत जुटाएर नयाँ सरकार गठन गर्न दलहरूलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेश सुशासन केन्द्र, जाउलाखेलमा सर्वदलीय बैठक आयोजना गर्दै सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अन्योलमा परेको भन्दै राजनीतिक निकासका लागि सबै दलसँग छलफल गरेका हुन्।
बैठकमा बोल्दै मुख्यमन्त्री बानियाँले विगतदेखि नै एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए आफू सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए। तर, हालसम्म दुवै दलले बहुमत जुटाउन नसकेको भन्दै प्रदेशलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न नहुने धारणा राखे।
उनले वर्तमान अवस्थाले प्रदेश सरकारको कामकारबाही प्रभावित हुन सक्ने भन्दै राजनीतिक स्थिरता कायम गर्न सहयोग गर्न सबै दललाई आग्रह गरे। आफूलाई समर्थन गरे तत्काल विश्वासको मत लिएर प्रदेशमा स्थिर सरकार दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले नेकपा एमालेलाई समर्थन फिर्ताको निर्णय पुनर्विचार गरी पुनः सहयोग गर्न आग्रह गरे भने अन्य दललाई सरकारमा सहभागी नभए पनि राजनीतिक स्थिरताका लागि बाहिरबाट समर्थन गर्न सकिने विकल्पबारे ध्यानाकर्षण गराए।
बैठकमा सहभागी दलका नेताहरूले पनि प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री तथा पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्यलगायत सहभागी थिए।
बागमती प्रदेशमा सत्ता समीकरणको टुंगो लाग्न नसक्दा राजनीतिक अनिश्चितता बढेको छ। अब दलहरूबीचको सहमति र समर्थनले प्रदेश सरकारको आगामी दिशा तय गर्ने देखिएको छ।


