काठमाडौं, साउन १९
टोखा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका नगरवासीको तथ्यांक संकलन सुरु गरेको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश गएका तथा हाल स्वदेश फर्किएर रोजगारी, स्वरोजगारी वा उद्यम व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको अभिलेख तयार पार्ने उद्देश्यले तथ्यांक संकलन अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार मागमा आधारित योजना तथा कार्यक्रम तर्जुमा र सञ्चालन गर्न आवश्यक तथ्यांक संकलनका लागि सम्बन्धित व्यक्तिहरूलाई सूचनामा समावेश गरिएको QR कोड स्क्यान गरी अनलाइन गुगल फारम भर्न अनुरोध गरिएको छ।
त्यस्तै, जापान र दक्षिण कोरियाबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण तथा क्षमता विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) ले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमका लागि समेत उक्त विवरण उपयोग हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर टोखा नगरपालिकामा स्थायी रूपमा बसोबास गरिरहेका सबै नागरिकलाई समयमै विवरण उपलब्ध गराई अभियानमा सहभागी हुन आग्रह गरेको छ। सूचना नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत जारी गरिएको हो।


