नबिना श्रेष्ठ
साउन १९, २०८३
नेपालभाषाकी पहिलो आधुनिक कवयित्री तथा विशिष्ट साहित्यकार नारायणदेवी श्रेष्ठको सोमबार साँझ ९२ वर्षको उमेरमा निधन भएको छ। काठमाडौँको बसुन्धरास्थित चिरायु अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे उहाँको निधन भएको परिवारले जनाएको छ।
परिवारका अनुसार श्रेष्ठ केही समयदेखि जन्डिसबाट पीडित हुनुहुन्थ्यो। स्वास्थ्यमा थप समस्या देखिएपछि गत बिहीबार उहाँलाई चिरायु अस्पतालमा भर्ना गरिएको थियो। उहाँको पार्थिव शरीरको अन्त्येष्टि आज बिहान ८ बजे पशुपति आर्यघाटमा गरिएको परिवारले जनाएको छ।
उहाँका दुई छोरा र एक छोरी छन्। नारायणदेवी श्रेष्ठ नेपालभाषाको पहिलो पुस्ताकी अग्रणी साहित्यकार तथा पहिलो आधुनिक कवयित्रीका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँले आफ्नो साहित्यिक यात्रामार्फत नेपालभाषाका कविता, गीत र साहित्यलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभयो। विशेषगरी महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय तथा उत्पीडनविरुद्ध उहाँका सिर्जनाले सशक्त आवाज उठाएका छन्।
साहित्यकारहरूका अनुसार उहाँका लेखनले नेपाली समाजमा चेतना, समानता र न्यायको पक्षमा गहिरो प्रभाव पारेका छन्। उहाँको चर्चित कविता तथा गीत “पासा उगु दिन वइतिनी, म्हयाय् बुल धाय् ख्वइमखु मापिं” (अर्थात्, “साथी, त्यस्तो दिन पनि आउनेछ, छोरीको जन्ममा आमाहरू रुनुपर्ने छैन”) नेपालभाषा साहित्यको ऐतिहासिक तथा परिवर्तनकारी सिर्जनामध्ये एक मानिन्छ।
उक्त रचनाले तत्कालीन समाजमा महिलाले भोग्नुपरेका पीडा, अपमान र असमान अवस्थालाई मार्मिक तथा प्रभावशाली ढंगले चित्रण गरेको छ। छोरीप्रतिको विभेद र लैङ्गिक असमानताविरुद्ध लेखिएको यो कविता आज पनि महिला अधिकारको सशक्त आवाजका रूपमा स्मरण गरिन्छ।
श्रेष्ठले आफ्नो जीवनभर नेपालभाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउनुभयो। उहाँका कविता र साहित्यिक कृतिहरूले सामाजिक परिवर्तन, मानवीय संवेदना र समानताको सन्देश प्रवाह गरेका छन्। उहाँका सिर्जनाले नयाँ पुस्ताका साहित्यकार तथा पाठकलाई निरन्तर प्रेरणा दिइरहेका छन्।
श्रेष्ठको निधनसँगै नेपालभाषा साहित्यले एक अग्रज स्रष्टा, प्रगतिशील चिन्तक तथा समाजप्रति उत्तरदायी साहित्यिक व्यक्तित्व गुमाएको छ। यद्यपि उहाँका कृति, विचार र साहित्यिक योगदान नेपाली समाज तथा नेपालभाषा साहित्यको इतिहासमा सदैव जीवित रहनेछन्।

