• TOKHA LIVE

      TOKHA LIVE

    • १९ श्रावण २०८३, मंगलवार १२:०३

    दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

    काठमाडौं, साउन /पछिल्लो करिब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको दाबी गरिए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता अझै ग्यासका लागि लामो लाइनमा बस्न बाध्य भएका छन्। पर्याप्त आयात हुँदाहुँदै पनि बजारमा सहज आपूर्ति हुन नसक्दा वितरण प्रणालीमाथि प्रश्न उठेको छ।

    एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेयता १६ दिनमा करिब ३० हजार मेट्रिक टन ग्यास आयात भएको छ। उनका अनुसार अहिले दैनिक औसत १०५ वटा बुलेट ग्यास नेपाल भित्रिरहेका छन् भने केही दिन १२५ वटासम्म बुलेट आएको छ। सामान्य अवस्थामा दैनिक ८० देखि ९० वटा बुलेट ग्यास नै पर्याप्त हुने उनको भनाइ छ।

    उद्योगीहरूका अनुसार अहिलेको समस्या ग्यासको अभाव नभई खाली सिलिन्डर व्यवस्थापनसँग जोडिएको छ। १४.२ केजीका सिलिन्डर पुनः सहज रूपमा उपलब्ध हुन थालेपछि लामो समयदेखि खाली रहेका सिलिन्डर एकैपटक साट्न उपभोक्ता बजारमा आउँदा वितरणमा चाप परेको उनीहरूको दाबी छ।

    नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पनि हालको अवस्था ग्यास अभावभन्दा बढी अचानक बढेको माग व्यवस्थापनको समस्या भएको बताए। उनका अनुसार नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ र सोही अनुपातमा आयात भइरहेको छ।

    निगमका तथ्यांकअनुसार फागुनमा ५१ हजार मेट्रिक टन, चैतमा ३८ हजार, वैशाखमा ३२ हजार, जेठमा ३३ हजार र असारमा करिब ४४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो। साउन १५ गतेसम्म थप २६ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको निगमले जनाएको छ।

    बजारमा ग्यास नपाएपछि काठमाडौंको टेकुस्थित नेपाल आयल निगम परिसरबाट नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीराम ग्यासलगायत कम्पनीले प्रत्यक्ष बिक्री गरिरहेका छन्। निगमले भने आफूले प्रत्यक्ष बिक्री नगरेको स्पष्ट पार्दै डिलरबाट ग्यास नपाएका उपभोक्तालाई सहज बनाउन उद्योगहरूलाई आफ्नो परिसर प्रयोग गर्न दिएको जनाएको छ।

    ग्यास आयात पर्याप्त रहेको दाबी भइरहेका बेला उपभोक्ताले भने सहज रूपमा ग्यास नपाइरहेको अवस्था देखिएको छ। यसले एलपी ग्यास व्यवस्थापनमा आयातसँगै वितरण प्रणाली, सिलिन्डर व्यवस्थापन र बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै