सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आईजीपी कार्कीको आग्रह
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्।
भिडियो सन्देशमार्फत उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले भरिएको देश भएको उल्लेख गर्दै नेपालीहरू लामो समयदेखि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ सहअस्तित्वमा बाँच्दै आएको बताए।
उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको बताउँदै पछिल्लो समय विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा असर पार्ने तथा सर्वसाधारणमा डर–त्रास सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको उल्लेख गरे।
आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने बताए। उनले संवेदनशील अवस्थामा सबैले विवेक, संयम र सद्भावको बाटो अपनाउन आग्रह गर्दै एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताए।