काठमाडौं / टोखा नगरपालिकाले राजस्व संकलन सेवामा देखिएको प्राविधिक समस्या र सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै अतिरिक्त समयमा राजस्व सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली SuTRA (Sub-National Treasury Regulatory Application) मा देखिएको प्राविधिक समस्याका कारण केही दिनदेखि राजस्व संकलन, बजेट कार्यान्वयन तथा भुक्तानीसम्बन्धी सेवा प्रभावित हुँदै आएको थियो। आर्थिक वर्ष २०८३/०८४ को राजस्व संकलन सुरु भएसँगै सेवाग्राहीको चाप बढेपछि समस्या थप देखिएको नगरपालिकाले जनाएको छ।
यस विषयमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा वडा नं. ८, ९ र ११ का वडा अध्यक्षहरूले महालेखा नियन्त्रक कार्यालय, अनामनगर पुगेर सह–महालेखा नियन्त्रक यमुना प्रधानसँग छलफल गरेका थिए।
छलफलका क्रममा देशभरका सरकारी निकायले एउटै SuTRA प्रणालीमार्फत नियमित बजेट सञ्चालन, आयोजना भुक्तानी र दैनिक राजस्व संकलनलगायतका सेवा सञ्चालन गर्ने भएकाले एकैपटक अत्यधिक भार परेको जानकारी दिइएको थियो। सोही कारण प्रणालीमा अस्थायी रूपमा सेवा प्रवाहमा समस्या आएको बताइएको छ।
सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोखा नगरपालिकाले साउन १३ गतेदेखि साउन र भदौ महिनाभर आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा सोमबारदेखि शुक्रबार कार्यालय समयअघि अतिरिक्त सेवा दिने जनाएको छ। SuTRA प्रणालीमा अत्यधिक चापका कारण सेवा प्रभावित भएपछि यस्तो व्यवस्था गरिएको हो।

